अफ्रिका कप अफ नेसन्स

दक्षिण अफ्रिकाको फराकिलो जित

काठमाडौं ।  नामिबियालाई ४-० ले स्तब्ध बनाउँदै दक्षिण अफ्रिकाले आइभोरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्समा पहिलो जित दर्ता गरेको छ ।

अमाडो गन काउलीबाली रंगशालामा दक्षिण अफ्रिकालाई जित दिलाउन थेम्बा ज्वाने दुई तथा पर्सी टाउ र थापेलो मासेकोले समान एक गोल गरे ।

जितसँगै समूह ‘इ’ को दक्षिण अफ्रिकाले दुई खेलमा तीन अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको नामिबियाको पनि समान खेलबाट तीन अंक नै छ ।

खेलको १४ औं मिनेटमा टाउको पेनाल्टी गोलमार्फत दक्षिण अफ्रिकाले अग्रता लिएको थियो । ११ मिनेटपछि ज्वानेले टोलीको अग्रता दोब्बर बनाए ।

४० औं मिनेटमा ज्वानेले ब्यक्तिगत दोस्रो गोल गर्दा दक्षिण अफ्रिका ३-० ले अगाडि बढ्यो । ७५ औं मिनेटमा मासेकोले गोल गर्दै दक्षिण अफ्रिकालाई ४-० को फराकिलो जित दिलाए ।

पहिलो खेलमा दक्षिण अफ्रिका मालीसँग २-० ले स्तब्ध हुँदा नामिबियाले ट्युनिसियालाई १-० ले पराजित गरेको थियो ।

यसैगरी आइतबार नै समूह ‘एफ’ अन्तर्गतका खेलमा मोरक्को डेमोक्रेटिक रिपब्लिक अफ कंगो तथा जाम्बिया तान्जेनियासँग समान १-१ को बराबरीमा रोकिए ।