नेपाल सुपर लिग

नेपाल सुपर लिगः पोखरालाई हराउँदै धनगढी फाइनलमा

काठमाडौं । पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै साबिक उपविजेता धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल ) को दोस्रो संस्करणमा फाइनल प्रवेश गरेको छ ।

पेनाल्टीमा धनगढीका लागि आज्ञमान, फोडे फोफना, आशिष चौधरी र देवेन्द्र तामाङले गोल गरे । अमहमद हिजाजीको प्रहारलाई पोखराका गोकिपर प्रिसोले बचाए ।

पोखराका लागि दिनेश राजवंशी, अन्जल महर्जन, सुरज जिउ ठकुरीले गोल गरे । मोसेस ग्याबा र आयुश घलानको प्रहारलाई धनगढी गोलकिपरका मोहम्मद ताहाले बचाए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीले २-२ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

खेलको तेस्रो मिनेटमा नै पोखराका सुरज जिउ ठकुरीको कर्नर क्लियर भए पश्चात फ्रान्कलिन टाल्लाको हेडर धनगढीका गोलकिपर मोहमद ताहाले बचाए ।

दुई मिनेटपछि नै पोखरा अग्रता लिन सफल भयो । स्टेफन अन्नोरको लामो पासलाई मोसेस ग्याबाले बायाँ फ्लान्कमा भेटाएपछि उनले खेलेको क्रसमा दिपेश आले मगरले आयुष घलान सामु डिफ्लेक्ट गरिदिए । आयुषले उक्त बललाई जाली चुमाए  ।

२४ औं मिनेटमा धनगढीले बराबरी गर्ने अवसर गुमायो । अभिषेक गुरुङको क्रसमा अहमद हिजाजीको हेडर गोललाइनमा नरेन्द्र चौधरीले ब्लक गरे ।

५४ औं मिनेटमा हिजाजीको प्रहारलाई पोखराका गोलकिपर प्रिसोले बचाए । तर लगत्तै धनगढीले खेललाई बराबरीमाल्यायो । कमल श्रेष्ठको फ्रिकिकलाई कप्तान देवेन्द्र तामाङले हेडमार्फत पोस्टको दिशा दिए ।

८३ औं मिनेटमा जो आइडुको हेडलाई गोलकिपर मोहम्मद ताहाले डाइभ गर्दै उत्कृष्ट बचाउ गरेपछि पोखराले अग्रता लिन सकेन ।

१ सय ३ औं मिनेटमा अन्नोरको गोलमार्फत पोखराले २-१ को अग्रता लियो । १ सय २० औं मिनेटमो अहमद हिजाजीले धनगढीलाई २-२ को बराबरीमा ल्याए ।

पोखराले अब दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको एलिमिनेटरको विजेतासँग खेल्नेछ ।