नेपाली फुटबल

फुटबलले नेपाली खेलकुदको इज्जत जोगाउँदा

काठमाडौं । ढाकाको बंगबन्धु रंगशाला भरिभराउ थियो । छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को अन्तिम दिन त्यहाँ फुटबलको फाइनल थियो । फाइनलका लागि भारत र नेपालको टिम तयार थिए ।

क्षेत्रीय खेलकुदको सबभन्दा ठूलो मेलाको अन्तिम दिन भएकाले सबै देशका अधिकारीहरुको भिड हुनु स्वभाविक थियो । घरेलु टोली पहिलो चरणबाटै बाहिरिए पनि त्यतिखेर बंगलादेशमा फुटबलको एकदम ठूलो क्रेज थियो । फाइनल हेर्न आफ्नो टोली नभए पनि ठूलो संख्यामा स्थानीय दर्शक रंगशाला आएका थिए ।

म त्यतिबेला भर्खर १९ वर्षको ठिटो थिएँ । यो मेरो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । यसअघि श्रीलंकामा भएको साफमा मैले १७ वर्षको उमेरमा खेलेको थिएँ । हाम्रो टिममा त्यो बेला अदभूत एकता थियो । सबैले एकअर्कालाई मज्जासँग सहयोग गर्ने वातावरण थियो । त्यसैले उमेर सानो भए पनि सिनियर दाईहरुको माया, प्रेरणा र मार्गदर्शनका कारण ममा आत्मविश्वास भने थियो ।

मेरो करियरमा त्यतिबेलासम्म त्यो सबभन्दा ठूलो खेल थियो । नेपालले कुनै पनि खेलमा स्वर्ण पदक जित्न सकेको थिएन । अन्तिम खेल फुटबलको थियो । त्यसैले ‘अब नेपालको खेलकुदको इज्जत फुटबलले जोगाए जोगायो, नत्र बेइज्जत भयो’ भनेर राष्ट्रिय खेलकुद परिषद र मन्त्रालयका मानिसहरु पनि सबै रंगशाला आएका थिए ।

हामीलाई त्यसले थप दबाब सिर्जना गरेको थियो । एकदमै तनाव थियो । ‘अरु कसैले जित्न सकेनन्, अब हामीले नै देशको इज्जत जोगाउनुपर्छ’ भन्ने जिम्मेवारीबोधको दबाब थियो । भारत आफैमा निक्कै बलियो टिम थियो । तर हाम्रो मनोबल पनि बंगलादेशलाई जितेपछि उच्च भइसकेको थियो ।

निर्धारित समयमा अन्तिम तिर मणी दाई (मणी शाह)ले फ्रिकिकमा शानदार गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । त्यसपछि अब पेनाल्टी सुटआउटबाट स्वर्ण पदकको निर्णय हुने भयो । पेनाल्टीमा सबभन्दा धेरै भूमिका गोलकिपरको हुन्छ । त्यसैले मलाई अझ बढि तनाव थियो । उमेर पनि सानै थियो ।

तर मणी दाई, राजु दाई (तत्कालिन कप्तान राजुकाजी शाक्य), उमेश दाईहरुले काउन्सिलिङ गर्नुभयो । ‘तैले सक्छस, तैले गर्नुपर्छ’ भन्नुभयो । हाम्रो टिमबाट हान्नेले पनि राम्रो हान्यो । मैले पनि देशलाई सम्झेर ‘मैले जसरी पनि जोगाउनुपर्छ । आज इतिहास रच्नुपर्छ’ भन्ने अठोट गरेँ ।

सुरुका तीन पेनाल्टीमा दुवै टिमको गोल भयो । मैले उनीहरुको चौथो पेनाल्टी रोकेँ । हान्नेको नाम विर्सिएँ । तर उसले मेरो दायाँतिर हानेको थियो । मैले झ्याप्पै समातेँ । त्यसपछि हाम्रो टिमबाट पनि चौथो पेनाल्टी मिस भयो । भारतको तर्फबाट पाँचौं पेनाल्टी हान्नेले पनि मेरो दायाँतिर नै हान्यो । मैले पन्च गरेर बल बाहिर फालेँ । त्यसपछि निर्णायक पाँचौं प्रहारमा गोल भए हामीले स्वर्ण पदक जित्ने, नत्र खेल सडनडेथमा जाने थियो ।

हाम्रो टिमबाट वशन्तले (वशन्त गुरुङ)ले गोल गर्यो । भारतलाई हराउँदै हामीले स्वर्ण पदक जित्यौं । टिमका सिनियर दाईहरुले मलाई दुई पेनाल्टी जोगाउकोमा अंगालोमा धेरैबेर बाधिराख्नुभयो । ‘फुटबलले इज्जत जोगाउनुपर्छ’ भनेर रंगशाला आएका सबै अधिकारीहरु प्यारापिटमा खुसी मनाउन थाले । हामी नेपालको झण्डा ओढेर हिप हिप हुर्रे भन्दै रंगशालाको मैदान फन्को मार्न थाल्यौं । पूरा रंगशाला नेपालमय बन्यो । आनिर फुटबलले इज्जत जोगाइछाड्यो ।

स्वर्ण पदक त हाम्रो क्लाइमेक्सको कथा थियो । खासमा हाम्रो स्वर्ण पदक यात्राको कथा प्रतियोगिता सुरु हुनुभन्दा धेरै अगाडि सुरु भइसकेको थियो । निक्कै निम्छरो पारामा । साफको लागि फुटबल टिमको तयारी निक्कै फितलो थियो । त्योबेला अहिलेजस्तो लामो तयारी हुँदैनथ्यो । टिम नै ढाका जाने की नजाने भन्ने अन्योल अन्तिम समयसम्म थियो ।

हामी छोटो तयारीका भरमा ढाका पुग्यौं । त्यहाँ पुगेपछि साफको तयारीस्वरुप बंगलादेश एयर फोर्स भन्ने टिमसँग एउटा मैत्रीपूर्ण खेल खैल्यौं । त्यो खेल हामीले नराम्ररी हार्यौं । ठ्याक्कै विर्सिएँ, हामीले त्यो खेलमा दुई हो की तिन गोल खाएका थियौं ।

त्यो हारपछि त बंगलादेशमा हाम्रो चर्को आलोचना हुन थाल्यो । बंगलादेशको फुटबल माहोल त्योबेला निक्कै राम्रो थियो । अहिलेजस्तो क्रिकेटले बंगलादेशमा राज गरेको थिएन । फुटबल नै त्यहाँको एक नम्बर खेल थियो । व्यावसायिक फुटबल पनि राम्रो भएकाले प्रत्येक खेलमा रंगशाला खचाखच हुन्थ्यो । उसै राम्रो बंगलादेशले साफ खेलकुदका लागि पनि धेरै महत्व दिएर तयारी गरेको थियो । उनीहरुले साफका लागि भनेर मलेसियामा विशेष तयारी गरेर आएका थिए ।

हामीले एयर फोर्ससँग हारेपछि बंगालीहरुले खुलेरै हाम्रो आलोचना गरे । हाम्रो खेल पनि कमजोर, तयारी कमजोर अनि हामी भाङग्रे खालको ट्रयाकसुट लगाएर गएकोले व्यक्तित्व पनि त्यति राम्रो देखिएन । त्यसैले उनीहरुले ‘नेपालले कस्तो झुर टिम ल्याएको, यो टिमलाई त हामी सजिलैसँग ५-६ गोल हान्छौं’ भने ।

हामीलाई पनि एयर फोर्ससँग हारेपछि बंगलादेशसँग झन धेरै गोल खाने हो की भन्ने चिन्ता हुन थाल्यो । हामी एकदमै चिन्तित थियौं । उनीहरुको व्यावसायिक फुटबल पनि राम्रो भएकाले बंगलादेशसँग हामी डराउनु स्वभाविक थियो । चिन्ताको विषय एउटै थियो, धेरै गोल खाइएला भन्ने ।

हामीलाई सेराटन होटलमा राखेको थियो । हामी त्यो हारपछि बंगलादेशसँग अझ ठूलो हार भोग्नुपर्ला भन्ने चिन्ताले निक्कै गम्भीर भयौं । म त जुनियर खेलाडी थिएँ । मभन्दा बढि चिन्तित सिनियर दाईहरु हुनुहुन्थ्यो । त्यसपछि हामी होटलबाट कहीँ ननिस्कने निर्णय गर्यौं । होटलमै बसेर हामीले धेरै छलफल गर्यौं । एक–अर्कालाई जोश्यायौं । त्यसपछि बंगलादेशलाई जसरी पनि रोक्ने भन्नेमा एकबद्ध रुपमा प्रतिबद्ध भयौं ।

हाम्रो पहिलो खेल नै बंगलादेशसँग थियो । त्योबेला बंगलादेशको टिमले खेल्ने भनेपछि बंगबन्धु रंगशालाको माहोल कल्पना गरेभन्दा भव्य हुन्थ्यो । रंगशालामा खुट्टा राख्ने ठाउँ पनि हुँदैनथ्यो । उच्च फर्मको बंगलादेशले कमजोर तयारीका भरमा आएर एयर फोर्ससँगै पराजय भोगिसकेको नेपालसँग खेल्न लागेको कारण पक्का जित्ने आत्मविश्वासका साथ बंगाली समर्थक होहल्ला गरिरहेका थिए ।

रंगशालाको त्यो माहोलले हामीलाई झनै तनाव भयो । अनुमानअनुसार नै खेलमा बंगलादेशले हामीलाई निक्कै पेल्यो । तर उनीहरुका प्रयासले सफलता पाइरहेका थिएनन् । उनीहरुको आक्रमण कहिले बिममा ठोक्किने, कहिले मैले बचाउने भइरहँदा बंगलादेशले अग्रता लिन पाइरहेको थिएन । त्यस्तैमा मध्यान्तर हुनै लाग्दा वशन्त (वशन्त गुरुङ)ले एक गोल हान्यो । हामीले बलियो बंगलादेशविरुद्ध उनीहरुकै मैदानमा उनीहरुकै समर्थकका बीच अग्रता लियौं ।

तर त्यो अग्रताले हाम्रो कठिनाई झनै बढायो । गोल खाएपछि बंगलादेश घाइते बाघजस्तै भयो । हामीलाई झनै पेल्न  थाल्यो । हामीलाई जोगाउन झनै गाहे भयो । हामीले तैपनि रोक्यौं । भाग्यले साथ पनि दियो । लामो र उच्चस्तरीय तयारी गरेर आएको बलियो बंगलादेशलाई विना तयारी प्रतियोगिता खेलेको नेपालले निराश पार्यो ।

बंगलादेशलाई हराउँदा हामीलाई प्रतियोगिता नै जितेजस्तो भयो । हामीलाई झुर टिम भनेको, ५-६ गोल हान्छु भनेको कुराको हामीले मैदानबाट जवाफ दियौं । हामी खुसी हुनु स्वभाविक थियो । यसैगरी बंगाली समर्थक निराश हुनु चाँही त्योभन्दा सवभाविक थियो ।

उनीहरुले खेल हारेपछि रंगशालामा बबाल गर्न थाले । तोड्फोड गर्न थाले । पक्का जित्छ भनेको खेल हारेपछि बंगाली टिमलाई रंगशालाबाट बाहिर निस्कनै दिएनन् । पुलिस परिचालन गर्दा पनि धेरै बेरसम्म भिड नियन्त्रण भएन । हामीले झण्डै डेढ घण्टासम्म चेन्जिङ रुममै प्रतिक्षा गर्नुृपर्यो । भिड पूरा हटाइसकेपछि हामीलाई पुलिसले स्कर्टिङ गरेर होटल पुर्यायो ।

बंगलादेशलाई जितेपछि हाम्रो मनोबल अचानक अकासियो । त्यसपछि दोस्रो खेलमा माल्दिभ्ससँग गोलरहित बराबरी खेल्यौं । त्योबेला समूहको विजेताले सोझै स्वर्ण पदकका लागि खेल्ने व्यवस्था थियो । अहिलेजस्तो क्रस सेमिफाइनल त्यो प्रतियोगितामा थिएन । उपविजेताले सोझै कांश्य पदकका लागि खेल्थ्यो । माल्दिभ्स उपविजेता भयो । उनीहरुले श्रीलंकासँग कांस्य पदकका लागि खेले । हामीले बंगलादेशलाई हराएको जोशका साथ स्वर्णं पदकका लागि भारतसँग प्रतिस्पर्धा गर्यौं ।

(ढाका साफमा स्वर्ण पदक जित्दाका गोलकिपर एवं राष्ट्रिय टोलीका पूर्व कप्तान सिंहसँग अजय फुयालले गरेको कुराकानीको आधारमा)