नेपाली फुटबल

टिमवर्कले जितेको स्वर्ण पदक

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा सन् १९९३ मा भएको दक्षिण एसियाली महासंघीय खेलकुद (तत्कालिन साफ हालको साग)को छैटौं संस्करणमा नेपाल सहित सात राष्ट्रको सहभागिता थियो ।

प्रतियोगिताको अन्तिम दिनसम्म ११ खेलमा सहभागी भएको नेपालले ६ रजत र १५ कास्यसहित २१ पदक जित्दा स्वर्ण पदक हात पार्न सकेको थिएन । धनबहादुर बस्नेत प्रशिक्षक रहेको नेपाली फुटबल टोलीमा राजुकाजी शाक्य कप्तान थिए ।

नेपाल सामान्य अभ्यासको बीच प्रतितियोगिता खेल्न ढाका पुगेको थियो । ‘नेपालमा अभ्यास कमजोर भए पनि खेलाडी लगातार सँगै खेलेका थियौं । तालमेल पनि राम्रो हुँदा जित्ने लक्ष्यसहित ढाका पुगेका थियौं,’ कप्तान राजुकाजीले ती दिन स्मरण गर्दै भने ।

प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश माल्दिभ्ससँग बराबरीमा रोकिएको थियो । नेपालले पनि त्यही नतिजा निकाल्यो । समूहको निर्णायक खेल ‘गर या मर’स्थितिमा रहँदा नेपालले घरेलु टोली बंगलादेशलाई १–० ले हराएको थियो ।

बसन्त गुरुङले गरेको एकमात्रै गोलमा नेपालले घरेलु समर्थकमाझ बंगलादेशलाई हराएको हो । ‘खेलाडीबीचको तालमेल र जित्छौं भन्ने भावना भएकाले जित निकालिछाड्यौं,’ शाक्य सम्झन्छन् ।

तत्कालिन समयमा राजु शाक्यसँगै टोलीमा उमेश प्रधान, वसन्त, देवनारायण चौधरी, गोलरक्षक उपेन्द्रमान सिंह, राजेश थापा, राजेश मानन्धर, जीवन लामा, ज्ञानु शेरचन, सूर्यमान श्रेष्ठ, दीपक अमात्यहरु थिए ।

फाइनलमा स्थान बनाउन नसकेपछि बंगाली खेलाडीलाई समर्थकले मैदानमै आक्रमण गर्न पुगेका थिए । नाराबाजी र ढुंगामुढा नै भएको शाक्य सम्झन्छन् । यस घटनापछि नेपाली टोलीलाई नजिकै रहेको कभर्डहलमा पुर्याइएको थियो । ‘हार पछि समर्थक धेरै रिसाएका थिए । ढुंगामुढा भयो । जुत्ताले हान्न थाले । हामीलाई सुरक्षित राख्न कभर्डहल पुर्याइएको थियो । जहाँ नेपालका दलबहादुर रानाले बक्सिङमा प्रतिस्पर्धा गरिरहेका थिए ।’

नेपालले फाइनल प्रतिद्वन्दी भारत पाएको थियो । फाइनल अघि कुनै पदक नभएकाले खेलकुद परिषद्सहित सबै अफिसियलहरुको १२ बजे राति बैठक बसेको थियो ।

फाइनल खेलमा बंगलादेश नभएपछि नेपाललाई बंगाली समर्थकको साथ रहेको थियो । यद्यपि अग्रता भारतले नै बनायो ।

उमेश प्रधानले गोल गर्दै नेपाललाई १–१ स्थितिमा ल्याएका थिए । पुनः भारतले खेलमा २–१ को अग्रता बनायो । ‘हामी भारतले अग्रता बनाउँदा पनि आत्तिएनौं । सबै खेलाडीमा जित्छौं भन्ने पूर्णविश्वास थियो,’ शाक्य भन्छन् । दोस्रो हाफमा पाएको फ्रिकिकमा मणि शाहले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका हुन् ।

निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा पनि २–२ गोलकै बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीका नायक गोलकिपर उपेन्द्रमान सिंह भए । उनले भारतका दुई खेलाडीको पेनाल्टी बचाएका थिए ।

नेपालले पनि एक पेनाल्टी गुमाएको थियो । अन्तिम पेनाल्टी हान्न पुगेका बसन्त गुरुङको गोल भएसँगै नेपाल विजयी भयो । ‘भारतीय खेलाडीको पाँचौं प्रहार उपेन्द्रले बचाएपछि बसन्तले कुना च्यापेर हानेको प्रहार गोल भयो । हामी जित्न सफल भयौं,’ शाक्य ती स्मरण गर्दै खुसी हुन्छन् ।

स्वर्ण पदक जितेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टोलीलाई नै फोन गरेर बधाई दिएको शाक्यलाई याद छ । स्वदेश फर्किएपछि नेपाली टोलीलाई सरकारले त्रिभुवन विमानस्थलबाट र्याली गर्दै गौशाला हुँदै दशरथ रंगशालासम्म पु¥याएको थियो ।