नेपाल सुपर लिग

नेपाल सुपर लिगः जित्नै पर्ने खेलमा झापा एक गोलले पछाडि

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनअन्तर्गत प्लेअफबाट बाहिरिसकेको चितवन एफसीले झापा एफसीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार जारी खेलमा रफिक अमिनुको गोलमा चितवनले झापाविरुद्ध १–० को अग्रता लिएको हो ।

मार्की खेलाडी विमल घर्ती मगरको कर्नरमा चितवनले खेलको सातौं मिनेटमा गोल गर्यो । विमलको कर्नर बल अमिनुसम्म पुग्नुअघि अफ्रिइ अक्वाहले उनलाई हेडमार्फत गोलको मौका मिलाइदिएका थिए । प्राप्त अवसरलाई अमिनुले हेडमार्फत नै पोस्टको दिशा दिए । झापाका गोलकिपर स्टेफन क्युपिकले पाँच खेलपछि पहिलो गोल खाएका हुन् । क्युपिकले यसअघि प्रतियोगिताको दोस्रो खेलमा पोखरा थन्डर्सविरुद्ध गोल खाएका थिए । जतिबेला झापाले पोखरासँग १–१ को बराबरी खेलेको थियो ।

खेलको मध्यतिर होर्गे क्यानिलासले मार्की खेलाडी अञ्जन विष्टको सुन्दु थ्रु पासलाई सदुपयोग गर्न सकेनन् । लेफ्ट साइडबाट अञ्जनले दिएको पासमा कुनै पनि निगरानीमा नरहेका क्यानिलासले टच दिन नसक्दा झापाले बराबरीको अवसर गुमाएको थियो ।

इन्जुरी समयमा झापालाई भाग्यले साथ दिएन । लेफ्ट साइडबाट लक्ष्मण रुचालको क्रसमा अञ्जनको वान टच प्रहार क्रस बारमा लागेर बाहिरियो । यसअघि लक्ष्मणलाई क्यानिलासले थ्रु पास मिलाइदिएका थिए ।

झापा चितवनलाई हराएर प्लेअफमा स्थान पक्का गर्न चाहन्छ । चितवनलाई हराए झापा अंकतालिकाको दोस्रो स्थानमा उक्लिनेछ । हाल झापा १० अंकका साथ चौंथो स्थानमा छ । चितवनसँग हारे झापाले अन्य खेलको नतिजा कुनुपर्नेछ अनि काठमाडौं रेजर्स र वीरगंज युनाइटेडले आफ्ना खेलमा हार ब्यहोरे मात्र उसले प्लेअफमा स्थान बनाउनेछ । काठमाडौं र वीरगंजको ७ खेलमा क्रमशः ९ र ८ अंक छ ।

चितवन भने प्लेअफबाट बाहिरिसकेको छ । चितवन झापालाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।