नेपाल ओलम्पिक कमिटी

ओलम्पिक आइसक्यो, छैन तयारी

टोकियो ओलम्पिकमा नेपाल झण्डा बोक्दै पौडीका गौरिका सिंह र अलेक्सजेन्डर शाह

काठमाडौं । ओलम्पिक विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतियोगितामध्ये एक हो । प्रत्येक चार वर्षमा आयोजना हुने खेलकुदको यो महाकुम्भमा आफ्नो देशको प्रतिनिघित्व गर्ने हरेक खेलाडीको सपना हुन्छ ।

सन् १८९६ मा ग्रिसको एथेन्स सहरबाट सुरु भएको आधुनिक ग्रीष्मकालीन ओलम्पिकको ३० औं संस्करण अर्को वर्ष फ्रान्सको पेरिस सहरले आयोजना गर्दै छ ।  सन् २०२४ को जुलाई २४ देखि अगस्ट ११ सम्म हुने प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदै छ ।

सन् २००४ मा तेक्वान्दोकी संगीना वैद्य र सन् २००८ मा तेक्वान्दोकै दीपक विष्टले छनोट पार गरेर ओलम्पिकको कुम्भमेलामा पुगेका थिए ।

सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेको नेपाल हालसम्म भने पदकविहीन छ । ओलम्पिक सहभागिताको ६ दशक लागिसक्दा पनि नेपालबाट हालसम्म दुई खेलाडीले छनोट चरण पार गरेर ओलम्पिक खेलेका छन् ।

सन् २००४ मा तेक्वान्दोकी संगीना वैद्य र सन् २००८ मा तेक्वान्दोकै दीपक विष्टले छनोट पार गरेर ओलम्पिकको कुम्भमेलामा पुगेका थिए । अन्य खेलाडीले वाइल्ड कार्डकै भरमा ओलम्पिमा सहभागिता जनाउँदै आएका छन् ।

ओलम्पिकमा नेपालको प्रदर्शन कमजोर रहँदै आएको छ । पेरिस ओलम्पिक नजिकिँदै गर्दा नेपालले अहिलेसम्म कति खेलमा सहभागिता जनाउने कुनै टुंगो लागिसकेको छैन । बक्सिङले भर्खरै ओलम्पिक छनोटका लागि पहिलो चरणको छनोट प्रतियोगिता सम्पन्न गरेको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एक वर्षदेखि १० खेलका १० खेलाडीलाई छात्रवृत्ति प्रदान गर्दै प्रशिक्षण गराइरहेको छ ।

एनओसीले ब्याडमिन्टनका प्रिन्स दाहाल (एकल), भारोत्तोलनका सागर भण्डारी (१०९ केजी), जुडोका मनिता श्रेष्ठ प्रधान (५७ केजीमुनि), फेन्सिङका प्रयास योन्जन (साबर), पौडीका नाजिर याहा हुसेन (२०० मिटर फ्रिस्टायल), सुटिङकी सुस्मिता नेपाल (एयर राइफल), तेक्वान्दोकी इन्द्र बस्नेत (६७ केजीमुनि), गल्फका सुवास तामाङ (व्यक्तिगत), टेबलटेनिसका सुयोग कपाली र डान्सिङ का स्पोर्टसका दीपक लामा (बी-बोइङ) लाई छात्रवृत्ति प्रदान गरी विशेष प्रशिक्षण गराइरहेको छ ।  

यसपल्ट पनि नेपालको लक्ष्य पदक जित्ने भन्दा पनि व्यक्तिगत प्रदर्शन सुधारमै हुने निश्चित छ । 
 

पेरिस ओलम्पिक तयारीलाई कसरी अगाडि बढाउने भन्ने छलफलमा एनओसी छ । ‘ओलम्पिक तयारीमा कसरी जुट्ने भन्ने छलफल भइरहेको छ । अहिले पहिलो चरणको तयारीअनुसार गत वर्षदेखि १० खेलका खेलाडीलाई ओलम्पिक छात्रवृत्ति उपलब्ध गराएर प्रशिक्षण गराइरहेका छौं,’ नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राज वैद्यले भने, ‘उनीहरूले आ-आफ्नो छनोट प्रतियोगिता खेल्ने छन् । छनोट प्रतियोगितामा ती खेलाडीको प्रदर्शनपछि कसरी अगाडि बढ्ने भन्ने थाहा हुन्छ ।’

उपाध्यक्ष वैद्य छनोट प्रतियोगितापछि मात्र ओलम्पिक वाइल्ड कार्डका लागि प्रयास गर्न सकिने बताउँछन् ।  ‘सिधै ओलम्पिक खेल्न पाइन्छ भन्ने होइन । यसका लागि छनोट चरण पार गर्नुपर्ने हुन्छ । यदि खेलाडीले छनोट प्रतियोगिता सम्पन्न भइसकेपछि मात्र वाइल्ड कार्डमा प्रयास गर्न पाइन्छ,’ उपाध्यक्ष वैद्यले थपे, ‘खेलाडीको प्रदर्शन र सम्भावनाका आधारमा मात्र कुन खेलका लागि वाइल्ड कार्डको प्रयास गर्ने निर्णय हुन्छ ।’

ओलम्पिक छात्रवृत्ति प्राप्त ब्याडमिन्टनका प्रिन्स दाहाल

ओलम्पिक छनोट प्रतियोगिता सकिएपछि मात्रै वाइल्ड कार्ड प्रक्रिया अगाडि बढ्ने भएकाले नेपालबाट सहभागिता जनाउने अघिकांश खेलाडीले बढीमा दुई महिनामात्र विशेष प्रशिक्षण गर्ने अवसर पाउनेछन् । ओलम्पिक जस्तो ठूलो प्रतियोगितामा यत्तिको तयारीले पक्कै पनि पुग्ने छैन ।

यसपल्ट पनि नेपालको लक्ष्य पदक जित्ने भन्दा पनि व्यक्तिगत प्रदर्शन सुधारमै हुने निश्चित छ ।