नेपाल सुपर लिग

नेपाल सुपर लिगः वीरगंजको पहिलो जित

काठमाडौं । विलियम ओपकु ऐसेडोले इन्जुरी समयमा निर्णायक गोल गरेपछि वीरगंज युनाइटेडले नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनमा पहिलो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरग रंगशालाम बुधबार सम्पन्न खेलमा वीरगंजले स्पोर्टिङ इलामविरुद्ध २-१ को पुनारागमन जित हासिल गरेको हो । 

जितसँगै पुछारमा रहेको वीरगंज अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । वीरगंजले पाँच खेलबाट ५ अंक जोडेको छ । हारसँगै इलाम तालिकाको पुछारमा झरेको छ । उसको ६ खेलबाट मात्र ४ अंक छ । हारले इलामको शीर्ष चारमा पर्ने सम्भावना न्युन भएको छ ।

खेलको १५ औं मिनेटमा आशिषको गोलमार्फत इलामले अग्रता लिएको थियो । सुरज बस्नेतको थ्रु पासमा वीरगंजका राक्षक जाड्जे गुस्ताभोले नियान्त्रण गर्न नसक्दा पोनाल्टी बक्स भित्र पाएको बललाई आशिषले पोस्टको दिशा दिएका हुन् । त्यसको पाँच मिनेटपछि ओमार थिओमको भली प्रहार बारमाथिबाट बाहिरिँदा इलामले अग्रता दोब्बर बनाउन सकेन ।

३३ औं मिनेटमा बिसोन गुरुङले वीरगंजलाई बराबरीमा ल्याए । बिसोनले सुशिल लामाको थ्रु पासलाई पेनाल्टी बक्स भित्रबाट इलामका गोलरक्षक विकेश कुथुलाई विट गर्दै जाली चुमाए ।

दोस्रो हाफमा दुबै टोलीले कुनै पनि राम्रा अवसर सृजना गर्न सकेनन् । यसबीच निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा आशिषको प्रहारले पोस्टको दिशा लिन नसक्दा वीरगंजको खतरा टर्यो । फोडे कामाराको सुन्दर थ्रु पासमा आशिषले गरेको प्रहार बाहिरिएको थियो ।

इन्जुरी समयमा इलामका सुरज बस्नेतले बक्सभित्र ह्यान्ड गरेपछि वीरगंजले पेनाल्टी प्राप्त गरेको थियो । प्राप्त पेनाल्टी अवसरमा ऐसेडोले कुनै पनि गल्ती गरेनन् ।