उपमेयर कप राष्ट्रिय महिला फुटबल

सुनकोशी र बेदकोटको विजयी सुरुआत

काठमाडौं । सुनकोशी गाउँपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा बिहीबार धरान उपमहानगरपालिकालाई ४-१ को नतिजामा निराश पारेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दिनको अन्तिम खेलमा सुनकोशीकी रविना पहारीले दुई गोल गरिन भने अनु लामा र भिमकुमारी गुरुङले एक/एक गोल गरे । धरानका लागि रन्जिला राईले सान्त्वनास्वरुप एक गोल फर्काइन ।

सुनकोशीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी अनु लामा खेलको प्लेअर अफ दी म्याच घोषित भइन् । उनले पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन ।

बिहीबारै भएको अर्को खेलमा निलम सिंहको दुई गोलप्रेरित कञ्चनपुरको बेदकोट नगरपालिकाले सुनसरीको बराहक्षेत्र नगरपालिकाविरुद्ध ३-० को जित निकाल्यो । बेदकोटको जितमा अर्को गोल शोभा क्षेत्रीले गरेकी थिइन ।

बेदकोटकी निलम प्लेअर अफ दी म्याच बन्दै पाँच हजार रुपैंयासहित ट्रफी पाइन् ।