मेयर भेट्रान्स कप

बुटवल र चितवनको बराबरी

काठमाडौं । मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा बुटवल सव मेट्रो र चितवन भेट्रान्सले ४-४ को बराबरी खेलेका छन् ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तेस्रो मिनेटमा कन्या सुब्बा गुरुङको गोलमा चितवनले अग्रता लिएको थियो । रमेश थापाले दशौं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

बुटवलका यामु रानाले २० र २७ औं मिनेटमा गोल फर्काए । तर चितवनका लागि रमेशले २८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता पुनस्थापित गरे । उनले ५५औं मिनेटमा ह्याट्रिक पूरा गर्दै चितवनलाई ४–२ को अवस्थामा पुर्याए ।

अतिरिक्त समयमा बुटवलका चन्द्रिका चौधरीले टोलीको तर्फबाट तेस्रो गोल गरे भने चितवनबाट एउटा आत्मघाति गोलको उपहार पाउँदा टोली बराबरी नतिजा निकाल्न सफल भयो ।

चितवनका यामु राना खेलको म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् ।