उपमेयर कप राष्ट्रिय महिला फुटबल

उपमेयर कपमा गोदावरीको सुखद अन्त्य

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ५–३ ले हराउँदै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा सुखद अन्त्य गरेको छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार भएकोसमूह ‘ए’ को खेलमा गोदावरीको जितमा  दावा डोल्मा लामा र एस्टर तामाङले समान दुई गोल गर्दा यानजोम रोकायले  एक गोल गरिन् । 

महालक्ष्मीको लागि सरु राईले दुई गोल र पुजा लामाले एक गोल गरेपनि टोलीलाई हार्नबाट रोक्न सकेनन् । 
गोदावरीकी दावा डोल्मा लामा खेलको प्लेअर अफ दी म्याच बन्दै पाँचहजार रुपैंयासहित ट्रफी पाइन् । 

यी दुई टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । त्यसैले यी दुई को भिडन्त प्रतिष्ठाको लडाई मात्र थियो ।

प्रतियोगिताको दोस्रो खेल कन्काइ नगरपालिका र बागमती नगरपालिकाबीच जारी छ । यस खेलको विजेता समूह विजेता बन्दै नकआउट चरणमा स्थान पक्का गर्नेछ । दुई टोलीले दुई खेलमा समान ६ अंक जोडेका छन् । 

आजै हुने अन्तिम खेल दिउँसो ३ बजे समूह ‘बी’ मा कालिका नगरपालिका र ललितपुर महानगरपालिकाबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । दुवै टोलीको एक जितपछि समान तीन अंक छ ।