भिटेसेसँग टोटनहम स्तब्ध 

पेरिस, (खेलाडी) - म्याक्सीमिलियन विटेकले दोस्रो हाफमा गरेको गोलमा युरोपा कन्फरेन्स लिगअन्तर्गत समूह ‘जी’को खेलमा भिटेसेले बिहीबार राति इङ्लिस प्रिमियर लिगको महारथी टोटनहममाथि १-० को जित हासिल गरेको छ । 

टोटनहमले युरोपेली प्रतियोगितामा यसअघि पनि पछिल्ला सातमध्ये दुई खेलमात्र जितेको थियो । महादेशीय प्रतियोगितामा लर्खराउँदो लयले टोलीलाई बिहीबार पनि छोडेन । 

मध्यान्तरअघि निक्कै निराशाजनक फुटबल खेलेको नुनो इस्पिरिटो सान्तोसको टोलीका लागि दोस्रो हाफ सुरु हुने वित्तिकै बार्यन जिलले गरेको प्रहार पोस्टमा लागेर फर्किंदा भने अग्रता लिनबाट चुकेको थियो ।

प्रशिक्षक सान्तोषले नेदरल्यान्ड्सको भ्रमणमा कप्तान ह्यारी केनलाई पूर्ण रुपमा आराम दिएका थिए । जसको मुल्य चुकाउने क्रममा विटेकसँग पराजित भएपछि युरोपेली क्लब फुटबलमा तेस्रो दर्जाको प्रतियोगितामा टोलीको अपराजित यात्रामा पूर्णविराम लाग्यो । 

बिहीबारको हारपछि टोटनहम तीन खेलको समाप्तीमा चार अंकका साथ समूहको तेस्रो स्थानमा सीमित छ । सात अंक जोडेको रेनेस शीर्ष स्थानमा रहँदा ६ अंकका साथ भिटेसे दोस्रो स्थानमा छ । अंकको खाता खोल्न नसकेको मुरा पुछारमा छ ।