राष्ट्रिय महिला लिग छनोटमा आज तीन खेल हुँदै

काठमाडौ, (खेलाडी )-  उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा शुक्रबार तीन खेलहरु हुनेछन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिनमा पहिलो खेल बिहान ९ बजे समूह ’सी’ अन्तर्गत भक्तपुर नगरपालिका र बासगढि नगरपालिकाबीच हुनेछ । 

दोस्रो खेलमा समूह ’डी’ अन्तर्गत जानकी नगरपालिका र शिवशक्ती नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १२ बजे हुनेछ । 

यस्तै प्रतियोगिताको अन्तिम खेल दिउँसो तीन बजे समूह ’इ’ को सिमकोट नगरपालिका र काठमाडौ महानगरपालिकाबीच हुनेछ । 

बिहिवार प्रतियोगिताको पहिलो खेलमा समूह ’ए’ को बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९-० ले हराउँदै जित हात पारेको थियो । जितसँगै बागमतीले तीन अंक जोड्यो । 

अर्को खेलमा कन्काइ नगरपालिकाले गोदावरी नगरपालिकालाई १२-० ले हराउँदै महत्त्वपूर्ण तीन अंक जोड्यो ।

यस्तै समूह ’बी’ को कालिका नगरपालिकाले कागेश्वरी नगरपालिकालाई १०-० ले हरायो । जितसँगै कालिकाले तीन अंक जोड्यो ।

प्रतियोगितामा सहभागी  ३१ टिमलाई १० समुहमा विभाजन गरिएको छ । समुह ’ए’ मा चार टिम र अन्य समुहमा तीन– तीन टिम रहेका छन् । 

प्रतियोगिताको विजेता र उपविजेता  पुसमा हुने राष्ट्रिय महिला लिग छनोट हुनेछन् । 

उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ ।