फातीले मेसीको स्थान लिन सक्दैननः कोम्यान

बार्सिलोना, (खेलाडी)-  स्पेनिस ला लिगा क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले युवा स्ट्राइकर अंशु फातीले अझै धेरै कुरा सुधार गर्न बाँकी रहेको भन्दै उनले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको अभाव पूर्ती गर्न नसक्ने बताएका छन् । 

बुधबार च्याम्पियन्स लिग अन्तर्गत समूह 'इ' मा पहिलो जित हात पार्ने क्रममा बार्सिलोनाले डाइनामो किभलाई १-० ले हराएको थियो ।

‘आजको खेलबाट फाती अझै धेरै कुरामा कमजोर रहेको देखियो । उनले यसमा सुधार गर्न आवश्यक छ,’ कोम्यानले भने, ‘तर त्यो सामान्य हो । फाती यसै महिनाबाट १९ वर्षको हुदैछन् । उनीबाट हाम्रो सबै समस्याको समधान हुन्छ भन्ने आशा गर्न सकिन्न । मेसीले बार्सिलोनामा छोडेका छाप फातीले भेट्टाउन असम्भव छ ।’

स्पेनका १८ वर्षिय फातीले बार्सिलोनासँग बुधबार मात्रै २०२७ सम्मको ६ वर्षे लामो सम्झौता नविकरण गरेका थिए । 

सिजनको सुरुवातमा क्लबका सर्वाधिक गोलकर्ता मेसी बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुवन्धित भएपछि फातीले  १० नम्बर जर्सी लगाउँदै आएका छन् ।