बागमतीको रबाफिलो जित

काठमाडौं, (खेलाडी)- सर्लाहीको बागमती नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा विजयी सुरुआत गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा एन्फा कम्प्लेक्समा बिहिबार भएको उद्घाटन खेलमा बागमतीले ललितपुरको महालक्ष्मी नगरपालिकामाथि ९-० को रबाफिलाे जित हात पारेको हो ।

बागमतीको सहज जितमा स्ट्राइकर रश्मी घिसिङले ह्याट्रिकसहित पाँच गोल गर्दा  रेनु नगरकोटीले दुई तथा कप्तान अनु राई र सुदिपा भोलोनले समान एक गोल गरे ।

खेलको प्लेयर अफ दि म्याच बागमतकी रश्मि  घिसिङ भईन । उनले ट्रफी सहित ५ हजार रुपैया प्राप्त गरिन् । 

प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । समूह ए मा चार र अन्य नाै समूहमा तीन टोली रहेका छन् ।

 प्रत्येक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गर्नेछ । कार्तिक १५ गते सम्म लिग चरणका खेलहरु हुनेछ भने कार्तिक २२ गते बाट प्रतियोगिताको नकआउटका खेलहरु हुनेछन् ।

प्रतियोगिता विजेता र उपविजेता पुसमा आयोजना हुने महिाला राष्ट्रिय लिगका लागि छनोट हुनेछन् ।  

उपमेयर कपको विजेताले पाँच लाख रुपैया र उपविजेताले तीन लाख रुपैया हात पार्नेछ ।

विधागततर्फ उत्कष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार रुपैया प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ । यस्तै प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन् ।