शीर्ष स्थानमा चेल्सीको पुनरागमन

लन्डन, (खेलाडी)- युरोपियन च्याम्पियन चेल्सीले शनिबार राति ढिलोगरी भएको खेलमा ब्रेन्टफोर्डमाथि १-० को कठिन जित हासिल गर्दै इङ्लिस प्रिमियर लिग अंकतालिकाको शीर्ष स्थानमा पुनरागमन जनाएको छ ।

शनिबारै केही बेरअघि भएको खेलमा वाट्फोर्डलाई ५-० को फराकिलो नतिजामा हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । तर ब्रेन्टफोर्ड भ्रमणमा हासिल गरेको संघर्षपूर्ण जितपछि चेल्सी लिभरपुललाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा फर्किन सफल भयो । 

शनिबारको नतिजापछि आठ खेलको समाप्तीमा चेल्सी १९ अंकका साथ शीर्ष स्थानमा फर्किँदा १८ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा झरेको छ । बर्नलीमाथि २-० को जित हासिल गरेको म्यानचेस्टर सिटी १७ अंकका साथ तेस्रो स्थानमा छ । 

मध्यान्तरअघि खेलमा पकड कायम राखे पनि दोस्रो हाफमा चेल्सीले निक्कै दबाब सामना गर्नुपरेको थियो । चेल्सीका गोलकिपर इडुवार्ड मेन्डीले दर्जनभन्दा बढि खतरनाक प्रहार जोगाएर भ्रमणकारी टोलीको जितको आधार कायम राखेका थिए । 

ब्रेन्टफोर्डले मध्यान्तरपछि खेलमा दबाब राखे पनि पहिलो हाफको इन्जुरी समयमा बेन चिलवालले गरेको एउटै गोल चेल्सीलाई तीन अंक दिलाउन पर्याप्त भयो । विपक्षी पेनाल्टी बक्समा पाएको लुज बललाई वायाँ खुट्टे प्रहारमार्फत चिलवालले गोलमा परिणत गरेका थिए ।