नेपाली फुटबल

नेपालसँग मैत्रीपूर्ण खेल्ने बंगलादेशको तयारी

काठमाडौं । बंगलादेश राष्ट्रिय पुरुष फुटबल टोलीले नेपाल राष्ट्रिय फुटबल टोलीसँग फिफा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ । बंगलादेश फुटबल फेडेरेसनले सेप्टेम्बरमा दुई मैत्रीपूर्ण खेल खेल्न तीन राष्ट्रसँग छलफलमा रहेको बताएको छ ।

बंगलादेश सकेसम्म अफगानिस्तानसँग सिल्हट जिल्लाको मैदानमा खेल्न चाहन्छ । सेप्टेम्बर ४ देखि १२ सम्म हुने फिफा विन्डोमा अफगानिस्तान, नेपाल वा म्यानमारसँग मैत्रीपूर्ण खेल्न आइतबारको बैठकबाट टुंगो लगाउने बंगलादेश फुटबलले कजनाएको छ ।

अक्टोबरमा बंगलादेशले फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटमा माल्दिभ्सको सामना गर्दैछ । सोही खेलको तयारीमा लागि बंगलादेश अफगानिस्तान, नेपाल वा म्यानमारसँग मैत्रीपूर्ण खेल्न चाहन्छ ।

सोहि मितिमा नेपालले लाओससँग खेल्ने तालिका छ । प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले ३३ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । यस मैत्रीपूर्ण खेलको बारेमा एन्फाले भने कुनै जानकारी गराएको छैन ।

बंगलादेशले मैत्रीपूर्ण खेलको लागि अगष्ट २० बाट तयारी थाल्ने बताएको छ । ‘हामीले मैत्रीपूर्ण खेलको बारेमा निर्णय लिइसकेका छैनौं । अफगानिस्तान, नेपाल र म्यानमारसँगै केही राष्ट्रसँग छलफल भइरहेको छ । बंगलादेश राष्ट्रिय टोली कमिटीका संयोजक काजी नविल अहमदले बताएका छन् । ‘भोलीको बैठकबाट निर्णय गर्छाैं ।’

गत असोजमा नेपाल र बंगलादेशको भेटमा नेपाल ३–१ ले विजयी भएको थियो । दशरथ रंगशालामा अञ्जन विष्टले ह्याट्रिक गरेका थिए ।