पेरिस सेन्ट जर्मन

स्क्रिनीयर पिएसजीमा अनुबन्ध


काठमाडौं । इन्टर मिलानका रक्षक मिलान स्क्रिनीयर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)मा अनुबन्ध भएका छन् ।

बिहिबार क्लबले आधिकारिक वेबसाइटमार्फत स्क्रिनीयरलाई पाँच वर्षका लागि अनुबन्ध गरेको जानकारी दिएको हो ।

‘पिएसजी मिलानबाट स्क्रिनीयरलाई पाँच वर्षका लागि क्लबमा भित्र्याउन पाउँदा क्लब निकै खुसी छ । स्लोभाकी रक्षक स्क्रिनीयरको सम्झौता ३० जुन २०२८ सम्म रहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

घरेलु फुटबल क्लब एमएसके जिलिनाबाट आफ्नो व्यवासायिक फुटबल करियर सुरु गरेका ६ फुट पाँच इन्च लम्बा कदका स्क्रिनीयार २०१७ मा इटालियन क्लब इन्टर गएका थिए । इन्टरअघि स्क्रिनीयरले अर्को इटालियन क्लब साम्पोर्डियामा एक वर्ष खेलेका थिए । यसबीच उनले जिलिना छँदा अर्को घरेलु क्लब भियोन जाउते मोराउचेमा एक वर्ष लोनमा बिताएका थिए ।

इटालीमा उनले पहिलो वर्षमै दर्शकहरुको मन लोभ्याएका थिए । सेनटर ब्याक स्क्रिनीयरले लिगमा ३६ खेल खेले । ‘सिरी ए’मा एकै सिजन ३५ खेल खेल्ने उनी सबैभन्दा कान्छा खेलाडी बने ।

इन्टर मिलानमा  स्क्रिनीयरले पाँच सिजनमा २४६ खेल खेल्दा स्त्रिनीयारले १० गोल समेत गरे । यसबीच उनले २०२१ मा घरेलु लिग, २०२२ र २०२३ मा कोपा इटालीयाको उपाधि जिते । त्यस्तै २०२१ र २०२२ मा इन्टरले सुपरकोपा इटालियानाको उपाधि पनि जितेको थियो ।

२०१६ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका स्क्रिनीयरले अहिलेसम्म ६० पटक देशको प्रतिनिधित्व गरेका छन् ।

‘म यो अद्भुत फुटबल क्लबको सदस्य हुन पाउँदा एकदमै खुसी छु,’ स्क्रिनीयरले भने, ‘पिएसजी विश्वकै ठूलो क्लबमध्ये एक हो, जहाँ विश्वस्तरीय खेलाडी र सानदार समर्थकहरु छन् ।’