आइसिसी एकदिवसीय विश्वकप छनोट

स्कटल्यान्डले दियो नेदरल्यान्ड्सलाई २ सय ७८ रनको लक्ष्य

काठमाडौं । ब्रेन्डन म्याकमुलको शतकप्रेरित स्कटल्यान्डले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससामू २ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बावेको क्विन्स स्पोर्टस पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७७ रनको योगफल तयार पारेको थियो ।

स्कटल्यान्डका लागि म्याकमुलनले १ सय १० बलमा ११ चौका र ३ छक्काको मद्दतमा १ सय ६ रन बनाए । यसैगरी कप्तान रिची बेरिङटनले ८४ बलमा ३ चौका र २ छक्काको मद्दतमा ६४, टोमस क्याकिनथोशले अविजित ३८,  क्रिस्टोफर म्याकब्रिडले ३२ र क्रिस ग्रेभेसले १८ रन जोडे ।

चौथो विकेटका लागि म्याकमुलन र बेरिङटनले १ सय ३७ रनको साझेदारी गरे ।

नेदरल्यान्ड्सका लागि बास डि लिडेले १० ओभरमा ५२ रन खर्चिदै ५ विकेट लिए । यसैगरी रायन केलिनले २ र लोगन भान बिकले १ विकेट लिए ।