सुनीलको गोलमा भारतको अग्रता

काठमाडौं, (खेलाडी)- सुनील क्षाेत्रीकाे गाेलमा भारतले नेपालविरुद्धको खेलमा १-० काे अग्रता लिएको छ । 

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सको मालेमा अहिले जारी खेलमा समय सकिन आठ मिनेट बाँकी रहँदा सुनीलले भारतका लागि गोल गरेका थिए । 

सात पटकको च्याम्पियन भारतलाई पहिलो हाफसम्म बराबरीमा रोक्दै नेपाली राष्ट्रिय फुटबल टोलीले फाइनल पुग्ने आधार कायम राखेको थियो ।

पहिलो खेलमा साविक विजेता माल्दिभ्सलाई १-० को नतिजामा पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ३-२ को विजयी नतिजा निकालेको थियो ।

यसअघी पाएका थुप्रै अवसर खेर फालेको भारतका लागि कप्तानले अन्तिम समयमा गोल गर्दै टोलीको फाइनल पुग्ने सम्भावना जीवित राखे । 

आइतबारै चाडोगरी सम्पन्न खेलमा श्रीलंकामाथि १-० को जित हासिल गर्दै माल्दिभ्सले फाइनल पुग्ने आधार जोगाएको थियो । अघिल्लो खेलमा बंगलादेशमाथि २-० को जित निकालेको माल्दिभ्सले तीन खेलमा ६ अंक जोडेको छ । 

पछिल्ला दुई खेलमा बंगलादेश र श्रीलंकासँग बराबरीमा रोकिएको भारत भने दुई अंकका साथ चौथो स्थानमा छ । भारतले बंगलादेशसँग १-१ तथा श्रीलंकासँग गोलरहित बराबरी नतिजा निकालेको थियो । 

श्रीलंकालाई १-० को नतिजामा हराएको बंगलादेश चार अंकका साथ तेस्रो स्थानमा छ । एक अंकमा सीमित श्रीलंका भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

यसपाली प्रतियोगितामा पाँच टोलीकोमात्र सहभागिता रहेकाले पहिलो चरणमा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपटि शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।