भारतविरुद्ध नेपाल : पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं, (खेलाडी)- सात पटकको च्याम्पियन भारतलाई पहिलो हाफसम्म बराबरीमा रोक्दै नेपाली राष्ट्रिय फुटबल टोलीले माल्दिभ्सको मालेमा जारी १३औं साफ च्याम्पियनसिपको फाइनल पुग्ने बलियो आधार कायम राखेको छ ।

पहिलो खेलमा साविक विजेता माल्दिभ्सलाई १-० को नतिजामा पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ३-२ को विजयी नतिजा निकालेको थियो । जारी प्रतियोगितामा सतप्रतिसत नतिजा निकाल्न सफल एकमात्र टोली नेपालले आजको खेलमा जित हासिल गर्न सके पहिलो चरणको एक खेलअगावै फाइनलको यात्रा पक्का गर्नेछ । 

भारतका कप्तान सुनील क्षेत्रीले मध्यान्तर हुन आठ मिनेट बाँकी रहँदा पाएको एउटा खुला अवसरलाई खेर फाल्दा नेपाल पहिलो हाफसम्म पोस्ट सुरक्षित राख्न सफल भएको थियो । दायाँ विंग्सबाट आएको लो त्रसमा सुनीलले ट्याप गरे पनि बलले पोस्टको दिशा लिन सकेन । 

आइतबारै चाडोगरी सम्पन्न खेलमा श्रीलंकामाथि १-० को जित हासिल गर्दै माल्दिभ्सले फाइनल पुग्ने आधार जोगाएको थियो । अघिल्लो खेलमा बंगलादेशमाथि २-० को जित निकालेको माल्दिभ्सले तीन खेलमा ६ अंक जोडेको छ । 

पछिल्ला दुई खेलमा बंगलादेश र श्रीलंकासँग बराबरीमा रोकिएको भारत भने दुई अंकका साथ चौथो स्थानमा छ । भारतले बंगलादेशसँग १-१ तथा श्रीलंकासँग गोलरहित बराबरी नतिजा निकालेको थियो । 

श्रीलंकालाई १-० को नतिजामा हराएको बंगलादेश चार अंकका साथ तेस्रो स्थानमा छ । एक अंकमा सीमित श्रीलंका भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

यसपाली प्रतियोगितामा पाँच टोलीकोमात्र सहभागिता रहेकाले पहिलो चरणमा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपटि शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।