इङ्लिस प्रिमियर लिग

टोटनहम भित्रिए म्याडिसन

काठमाडौं । इङ्लिस क्लब टोटनहमले इङ्ल्यान्डका मिडफिल्डर जेम्स म्याडिसनलाई अनुबन्ध गरेको छ ।  

टोटनहमले म्याडिसनलाई अर्को इङ्लिस क्लब लेस्टर सिटीबाट ४० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । क्लब र म्याडिसनबीच पाँच वर्षको सम्झौता भएको छ ।

सन् २०१८ मा इङ्लिस क्लब नर्विच सिटीबाट २० मिलियन पाउन्डमा लेसस्टर सिटीमा आवद्ध भएका म्याडिसनले क्लब लागि २ सय ३ खेले । उनले लेस्टरका लागि ५५ गोल र ४१ गोलका लागि अवसर सिर्जना गरे ।

म्याडिसनले गत सिजन प्रिमियर लिगमा १० गोल गरे पनि उनले क्लबलाई घटुवा हुनबाट बचाउन भने सकेनन् । 

यसअघि न्यूक्यासल युनाइटेडले पनि म्याडिसनलाई भित्र्याउन चाहेको थियो  ।

टोटनहमले मंगलबार सिरी एको क्लब एम्पोलीका गोलकिपर गुल्लिल्मो विकारियोलाई अनुबन्ध गरेको थियो । यसैगरी क्लबले लोनमा खेलिरहेका युभेन्टसका डेजान कुलुसेवस्कीलाई स्थायी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।