साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिपः लेबनानले भुटानलाई हरायो

काठमाडौं । आमन्त्रित टोली लेबनानले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।

लेबनानले आइतबार सम्पन्न खेलमा भुटानमाथि ४-१ को सहज जित निकालेको हो ।

जितसँगै दुई खेलमा ६ अंक जोड्दै समूह ‘बी’ को लेबनानले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । लगातार दोस्रो पराजय ब्यहोरेको भुटानको सेमिफाइनल सम्भावना कमजोर बनेको छ ।

पहिलो खेलमा लेबनानले बंगलादेशलाई २-० को पराजित गर्दा भुटानले  माल्दिभ्ससँग २-० को हार ब्यहोरेको थियो ।

बेङ्लोरस्थित कान्तिराभा स्टेडियममा लेबनानलाई जित दिलाउन मोहम्मद सादेक, अली हाज,खलिल बादेर र मेहदी जेनले समान एक गोल गरे । भुटानका लागि चेन्चो ग्याल्सेनले एक गोल फर्काए ।

खेलको ११औं मिनेटमा सादेकको गोलमार्फत लेबनानले अग्रता लिएको थियो ।  हाजको प्रहार भुटानका गोलकिपर छिरिङ डेन्डुपलेले फुस्काएपछि  प्राप्त रिबाउन्डलाई सादेकले गोलमा परिणत गरेका थिए ।

२४औं मिनेटमा हाजले टोलीको अग्रता दोब्बर बनाए ।  उनले पेनाल्टी बक्स बाहिरबाट चार भुटानी खेलाडीलाई बिट गर्दै उत्कृष्ट गोल गरे ।

३५औं मिनेटमा बादेरले लेबनानका लागि तेस्रो गोल गरे । कर्नरमा आएको हेडर भुटानी खेलाडीले  रोके पनि त्यसपछि प्राप्त रिबाउन्डलाई बादेरले पोस्टको दिशा दिएका थिए ।

४३औं मिनेटमा जेनले टोलीका लागि चौथो गोल गरे । पेनाल्टी क्षेत्र बाहिरबाट भएको प्रहार भुटानको रक्षकले रोके पनि दोस्रो प्रयासमा जेनले गोल गरे।

७९औं मिनेटमा ग्याल्सेनले गरेको गोल भुटानका लागि सान्त्वना बन्यो । ग्याल्सेनले दोर्र्जीको पासलाई पोस्टको दिशा दिएका थिए।

त्यसअघि ५६औं  मिनेटमा ग्याल्सेनको पेनाल्टी प्रहार बाहिरिँदा  भुटानले गोल अन्तर कम गर्ने अवसर गुमाएको थियो ।

समूह चरणको अन्तिम खेलमा बुधबार लेबनानले माल्दिभ्स तथा भुटानले बंगलादेशको सामना गर्नेछन् ।