साफ च्याम्पियनसिप २०२३

कुवेतविरुद्ध मैदान उत्रिने सम्भावित नेपाली खेलाडीहरु

काठमाडौं । दक्षिण एसियाली फुटबलमा सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १४ औं संस्करण आज (बुधबार) बाट भारतको बेङलुरुमा सुरु हुँदैछ । प्रतियागिताको उद्घाटन खेलमा नेपालले दक्षिण एसिया बाहिरको आमन्त्रित टोली कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । श्री कान्तिराभा मैदानमा खेल पौने चार बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, बंगलादेश र आमन्त्रण गरिएका दक्षिण एसिया बाहिरका कुवेत र लेवनानले सहभागिता जनाएका छन् । फिफा प्रतिबन्धका कारण यसपाली प्रतियोगितामा श्रीलंका छैन ।

कुवेत र लेवनानको सहभागितासँगै प्रतियोगिताको स्तर बढ्ने विश्वास गरिएको छ । साथै उपाधि जित्न प्रतिस्पर्धा निकै हुनेछ । साविक विजेता भारत र उपविजेता नेपालसँगै माल्दिभ्स र बंगलादेशमाथि चुनौती थपिएको छ ।

नेपालको चुनौती भने अन्य टोलीको भन्दा बेग्लै छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी विदेसिँदा नयाँ युवा खेलाडीमा भर पर्नुपरेको अवस्था  छ । सहिद स्मारक लिगमा दिन बिराएर खेल्नुपर्दा थकित खेलाडीले आवश्यक आराम पाएका छैनन् । प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसलाई तालमेल मिलाउन समस्या छ । उनले खेलाडीसँग समय बिताउन पाएका छैनन् ।

साफ च्याम्पियनसिपकै लागि भनेर लामो तयारी गर्न नपाएको नेपालले गत साता फिलिपिन्ससँग एउटा अभ्यास खेल खेलेको थियो । मनिलामा भएको उक्त खेलमा नेपाल १–० को नतिजामा पराजित भएको थियो ।

बेङलुरुमा आज कुवेतविरुद्ध मैदान उत्रिँदा पनि प्रशिक्षक एनेसले फिलिपिन्ससँग खेलेका खेलाडीलाई नै अवसर दिन सक्छन् । यद्यपि केही खेलाडी परिवर्तन गर्न सक्छन् । नेपालको गोल पोष्ट कप्तान किरणकुमार लिम्बूको जिम्मामा हुनेछ ।

रक्षापंक्तिमा सनिस श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्द निर्विकल्प हुन् । राइट ब्याकमा कसलाई खेलाउने भन्नेमा एनेस द्विविधामा छन् । फिलिपिन्सविरुद्ध ‘डेब्यु’ गरेका ३३ वर्षीय पाका खेलाडी विमल पाण्डेलाई यथावत राख्ने कि आक्रामक स्वभावका निशान खड्कालार्इं खेलाउने भन्ने निर्णय एनेसले अन्तिम समयमा लिनेछन् ।

यता, मध्यभागमा पुजन उपरकोटी, एरिक विष्ट र नवीन लामा पहिलो रोजाइमा हुने सम्भावना बलियो छ । पुजन डिफेन्सिभ मिडफिल्डमा हुनेछन् । ‘बक्स टु बक्स’ मिडफिल्डमा पुजन राम्रो दख्खल भएका खेलाडी हुन् । फिलिपिन्ससँगको खेलमा मैदान उत्रिने मौका पाए पनि लाकेन लिम्बूको प्रदर्शनबाट प्रशिक्षक सन्तुष्ट नरहेको बताइन्छ । यसकारण नवीनले मौका पाउने सम्भावना छ ।

अग्रपंक्तिमा विंग्सबाट अञ्जन विष्ट र आयुष घलानले आक्रमणको धार लगाउनेछन् । मुख्य हतियारको भूमिकामा नवयुग श्रेष्ठ, विमल घर्तीमगर र दीपकराज सिंह ठकुरी मध्ये एकलाई खेलाउन सक्छन् । विमल पूर्ण फिट छैनन् । दीपकको अनुभव कम भएकाले नवयुगले नै कुवेतविरुद्ध सुरुआत गर्न सक्छन् ।

नेपालको सम्भावित पहिलो रोजाईः
गोलकिपरः किरण चेम्जोङ (कप्तान)
रक्षकः सनिस श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, निशान खड्का
मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नविन लामा
स्ट्राइकरः अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आयुष घलान