वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता

थापागाउँको विजयी सुरुआत

भेट्रान फुटबलमा ‘म्यान अफ द म्याच’ को ट्रफी प्रदान गरिदै

काठमाडौं  । थापागाउँले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

चन्द्रविनायक पार्क, चावहिल मैदानमा बुधबार थापागाउँले चावहिल भेट्रान ‘ए’ लाई ४-१ ले पराजित गरेको हो । थापागाउँका हरिहर थापा, धनवीर चौधरी, शशि गौतम र प्रवेशजंग थापाले समान एक गोल गरे । चावहिलका अजब श्रेष्ठले सान्त्वना गोल गरे ।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा बौद्ध भेट्रान र तकामी पनि विजयी भए ।

बौद्धले एजेलाई ३-१ ले हरायो । बौद्धका धर्मेन्द्र लमाले ह्याट्रिक गरे । एजेका रवि थापा मगरले एक  गोल  फर्काए । 

तकामीले किङ्कोम स्पोर्टस क्लबलाई पेनाल्टी सुआउटमा ४-३ ले पराजित गर्यो । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो ।