सहिद स्मारक ‘ए’ डिभिजन लिग

रेलिगेसनबाट बच्न संघर्षरत दुई टोलीलाई महत्वपूर्ण तीन अंक

फाइल फोटो

काठमाडौं । अहमद हिजाजीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा रेलिगेसनबाट बच्न संघर्षरत विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबलाई १-० ले पराजित गरेको छ ।

हिजाजीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार सम्पन्न खेलको २८औं मिनेटमा जो एइडोको थ्रूबललाई पोस्टको दिशा दिएका थिए ।

जितसँगै पुलिस २० खेलमा २५ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेल हारेको थ्री स्टार भने २६ अंक जोड्दै छैटौं स्थानमा यथावत छ । 

प्रशिक्षक मेघराज केसीको नेतुत्वमा रहेको थ्री स्टार पछिल्ला नौ खेल यता जितविहिन छ ।

थ्री स्टारले पछिल्लो पटक ११औं चरणमा संकटालाई ३-० ले पराजित गरेको थियो । त्यसयता थ्री स्टारले पाँच बराबरी र चार हारको नतिजा निकालेको छ ।

पुलिसले थ्री स्टारसँग पहिलो भेटमा ब्यहोरेको हारको बदाला लिएको छ । पहिलो भेटमा थ्रि स्टार १-० ले विजयी भएको थियो । 

सातदोबाटोमाथि खुमलटारको जित

मोसुके ओलाेमाेउले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा एफसी खुमलटारले सातदोबाटो युथ क्लबमाथि १-० जित निकालेको छ ।

जितसँगै २० खेलमा २१ अंक जोडेको खुमलटार १४औं स्थानमा छ । पराजय ब्यहोरेको सातदोबाटो समान खेलबाट २९ अंकका साथ चौथो स्थानमा छ ।

ओलोमाेउले त्रिपुरेश्वरस्थित दशरथ रंशालामा मंगलबार सम्पन्न खेलको ३७ औं मिनेटमा गोल गरेका थिए । उनले राजिव लोप्चको क्रसलाई फस्ट टचमै पोस्टको दिशा दिएका हुन् ।

खुमलटारले पछिल्लो पटक १५औं चरणमा जावलाखेल युथ क्लाबलाई ४-२ ले पराजित गरेको थियो । त्यसयताका चार खेलमा खुमलटारले तीन हार र एक बराबरीको नितजा निकालेको छ । 

खुमलटारले सातदोबाटोसँग पहिलो भेटमा ब्यहोरेको हारको बदाला लिएको छ । पहिलो भेटमा सातदोबाटो २-१ ले विजयी भएको थियो ।