काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

सहज जितसहित नेपाल सेमिफाइनलमा

फाइल फोटो

काठमाडौं। बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै  घरेलु टोली नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार दोस्रो जितसँगै ६ अंक जोडेको नेपालले समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । यो नतिजासँगै यस समूहबाट भारतले पनि अन्तिम चारमा स्थान बनाएको छ ।

मंगलबारको पहिलो खेलमा भारतले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो । दुवै खेलमा पराजय ब्यहोरेका किर्गिस्तान र बंगलादेश भने बाहिरिएका छन् ।

पहिलो खेलमा नेपालले कीर्तिस्तान तथा भारतले बंगलादेशलाई समान ३-० को सोझो सेटमा हराएका थिए ।

नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा मंगलबार सम्पन्न तेस्रो खेल २५-१०, २५-८ र २५-९ ले आफ्नो पक्षमा पारेको हो ।

कुनै समय ९-८ को स्थितीमा रहेको दोस्रो सेटमा नेपालले लगातार १६ अंक जोडेको थियो ।

अब समूह चरणको अन्तिम खेलमा बुधबार नेपाल र भारत भिड्दैछन् । यो खेलले समूह विजेताको टुङ्गो लाग्नेछ ।

यसैगरी बंगालादेश र किर्गिस्तान पनि बुधबार नै आमने सामने हुनेछन् ।

मंगबार नै सम्पन्न समूह ‘बी’ को खेलमा काजकिस्तानले श्रीलंकामाथि ३-१ सेटको जित निकालेको थियो ।

यस्तै साँझ ६ः३० बजे सुरु हुने दिनको चौथो तथा अन्तिम खेलमा उज्वेकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।