सहिद स्मारक ए डिभिजन लिग

चर्च ब्वइजलाई अग्रता बढाउने अवसर

काठमडौं । शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजन नै उपाधि जित्ने लक्ष्य राखेको चर्च ब्वाइज युनाइटेडले आज सहिद स्मारक ए डिभिजन लिगमा विभागिय क्लब नेपाल पुलिस क्लबको सामना गर्दैछ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसमाथिको जितले शीर्ष स्थानको चर्च ब्वाइजले आफ्नो अग्रता ४ अंकमा पुर्याउने छ । बिहीबार शीर्ष स्थानको दाबेदार मानिएको दोस्रो स्थानको जावलाखेल युथ क्लब न्युरोड टिम (एनआरटी)सँग १-१ बराबरीमा रोकिएसँगै शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको थियो । त्यस्तै तेस्रो स्थानको मच्छिन्द्र क्लब फ्रेन्ड्स क्लबसँग २-२ को बराबरीमा रोकिएसँगै चर्च ब्वाइजसँग अंक बराबरी गर्ने अवसर गुमाएको थियो । 

शीर्ष स्थानको चर्च ब्वाइजको १८ खेलमा ३३ अंक छ । जुन दोस्रो स्थानको जावलाखेलभन्दा १ अंक बढी हो । जावलाखेलले एक खेल बढी खेलेको छ ।

दरशथ रंगशालामा आज हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले रेलगेशनको दबाबमा रहेको एफसी खुलमटारविरुद्ध खेल्नेछ । छैटौं स्थानको आर्मीको २५ अंक छ भने १४औं स्थानको खुमलटारको १७ अंक रहेको छ ।

यता एन्फा मुख्यायल सातदोबाटोमा हुने खेलमा हिमालयन शेर्पा क्लब र एपिएफ भिड्दैछन ।

नवौं स्थानको एपिएफ र १०औं स्थानको हिमालयन शेर्पाको समान १८ खेलमा समान २२ अंक रहेको छ ।