च्याम्पियन्स लिग

इन्टर र एसी मिलान भिड्दै

काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा मंगलबार दुई इटालियन क्लब इन्टर र एसी मिलान आमने सामने हुँदैछन् ।

खेल सान सिएरो स्टेडियममा नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

सहरी प्रतिद्धोन्द्धी मिलानलाई हराउँदै इन्टर १३ वर्षपछि फाइनल पुग्ने लक्ष्यमा छ । सन् २००९-१० सिजनको च्याम्पियन इन्टर त्यसयता फाइनल पुग्न सकेको छैन ।

पहिलो लेगमा २-० को जित निकालेको हुँदा इन्टरका लागि फाइनल यात्रा केही सहज हुने अनुमान गरिएको छ । मिलान एसक्रिनियरको अनुपस्थितीले इन्टरकाे रक्षापंक्तिमा केही समस्या हुनसक्छ ।

मिलान पनि इन्टरलाई स्तब्ध बनाउँदै सन् २००-७ को सिजनपछि पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा छ । मिलान पछिल्लो पटक त्यही सिजनमा च्याम्पियन बनेको थियो ।

चोटका कारण पहिलो लेग गुमाएका स्टार खेलाडी राफेल लिओको आगमनसँगै मिलानले नतिजा आफ्नो पक्षमा पार्ने अपेक्षा राखेको छ।

मिलानलाई इन्टरको चुनौती पन्छाउन त्यती सहज भने हुने छैन । हालसम्म मिलान सात तथा इन्टर तीन पटक च्याम्पियन बनेका छन् ।

मिलान र इन्टर हाल सम्म दुई सय ३६ खेलमा आमने सामने भएका छन् । जसमा इन्टरले ८८ तथा मिलानले ७९ खेल आफ्नो पक्षमा पार्दा ६९ खेल बराबरीमा टुंगिएको छ ।