सहिद स्मारक ‘ए’ डिभिजन लिग

खुमलटारमाथि मछिन्द्रको सहज जित

काठामाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारमाथि ३-० को सहज जित निकालेको छ ।

जितसँगै १८ खेलमा ३० अंक जोडेको मछिन्द्र तेस्रो स्थानमा यथावत छ । पराजय ब्यहोरेको खुमलटार समान खेलबाट १७ अंकका साथ पुछारमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार सम्पन्न खेलमा मछिन्द्रलाई जित दिलाउन ओलावाले अफिजले दुई तथा एन्द्रेस नियाले एक गोल गरे ।

खेलको ४२औं मिनेटमा नियाको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ७७औं मिनेटमा अफिजले टोलीको अग्रता दोब्बर बनाए ।

६ मिनेटपछि नै अफिजले ब्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३-० को सहज जित दिलाए ।

खुमलटारविरुद्ध मछिन्द्रले लिग डबल( दुवै लेगमा पराजित) गरेको छ । पहिलो लेगमा मछिन्द्र ७-३ ले विजयी भएको थियाे ।