सहिद स्मारक ‘ए’ डिभिजन लिग

जावलाखेल शीर्ष स्थानमा

काठमाडौं । फ्रेन्ड्स क्लबमाथि ४-१ को सहज जित निकाल्दै जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै जावलाखेलले १७ खेलमा नौ जित, तीन बराबरी र पाँच हारको नतिजासहित ३० अंक जोडेको छ । एक खेल कम खेलेको चर्च ब्वाइजसँग बराबरी अंक भए पनि जावलाखेल ‘हेड टु हेड’ मा अघि रहेको हो ।

पराजय ब्यहोरेको फेन्ड्स १७ खेलमा पाँच जित, चार बराबरी र आठ हारको नतिजासहित १९ अंकका साथ ११औं स्थानमा छ ।

च्यासल मैदानमा बिहिबार सम्पन्न खेलमा जावलाखेललाई जित दिलाउन एनकोटो मासोबीले दुई तथा राहुल राहुल र फोडे फोफनाले समान एक गोल गरे । फ्रेन्ड्सका लागि श्यामबाबु क्याचकीले एक गोल फर्काए ।

खेलको २५औं मिनेटमा राहुलको गोलमार्फत जावलाखेलले अग्रता लियो । राहुलले अब्दुलअजिज निशानबाएभको कर्नरमा हेडमार्फत गोल गरेका थिए ।

६ मिनेटपछि मासोबीले टोलीको अग्रता दोब्बर बनाए । मासोबीले पनि निशानबाएभको फ्रिकिकलाई पोस्टको दिशा दिएका थिए ।

६४औं मिनेटमा मासोबीले पेनाल्टीमार्फत ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । 

मासोबीकै प्रहारमा फ्रेन्ड्सका एन्जल महर्जनले पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि जावलाखेलले पेनाल्टीको अवसर पाएको थियो ।

८०औं मिनेटमा श्यामबाबुले गोल गरेपछि खेल ३-१ को स्थितीमा आयो । इन्जुरी समयमा फोफनाले गोल गर्दै जावलाखेललाई ४-१ को सहज जित दिलाए । फोफनाले मासोबीको पासलाई सदुपायोग गरेका हुन् ।

पहिलो लेगमा फ्रेन्ड्स २-१ ले विजयी भएको थियो ।