गोदावरी मेयर कप

गोदावरी मेयर कपः चापागाउँ र गोदावरी फाइनलमा

ललितपुर । वडा न.११ चापागाउँ(क) र वडा न.३ गोदावरी(क) ललितपुरको थेच्वमा जारी तेस्रो गोदावरी मेयर कप सेभेन ‘ए’साइड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

थेच्वको स्थानीय क्लब टु स्टार क्लबको आयोजनामा जारी प्रतियोगितामा सोमबार चापागाउँले वडा न.६ टिकाभैरव र  गोदावरीले वडा न.१ गोदामचौर(क) लाई पराजित गरेका हुन् ।

थेच्वस्थित दुरिखेल मैदानमा सम्पन्न दिनको पहिलो सेमिफाइनलमा, चापागाउँले टिकाभैरवलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्यो । निर्धारित ७० मिनेट तथा २० मिनेटको अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

 पेनाल्टी सुटआउटमा चापागाउँका लागि आदित्य महर्जन, अजय महर्जन र सुजेन महर्जनको प्रहार गोलमा परिणत भए । 

टिकाभैरवका लागि मनिष थापा र अनिश लामले गोल गर्दा यशबुद्ध लामा चापागाउँका गोलकिपर उपेन्द्र महर्जनले बचाउँदा अनिल लामाको प्रहार पोलमा लागेर बाहिरिएको थियो । ।

दोस्रो सेमिफाइनलमा गोदावरीले गोदामचौरलाई ३-२ ले हरायो । गोदावरीको जितमा सायर तामाङले दुई गोल गर्दा पासाङ लामाले एक गोल गरे । गोदामचौरका लागि दुवै गोल अरुण लामाले गरे । प्रतियोगितामा अरुणको यो आठौं गोल हो ।

यी दुईबीचको फाइनल खेल शुक्रबार दिउँसो ३ बजे हुनेछ । गोदावरी लगातार दोस्रोपटक फाइनल खेल्दैछ । गत संस्करण गोदावरी उपविजेतामा सिमित भएको थियो । त्यतिबेला उसलाई वडा न.५ लेलेले ३-१ ले हराएको थियो ।

यसपालि प्रतियोगितामा कुल १८ टिमको सहभागिता थियो। नगरपालिका भित्र १४ वडा रहेका छन् । प्रत्येक वडाबाट दुईवटा टोलीसम्म सहभागी हुन पाउने प्रावधान रहेकोमा आयोजकसँगै विशंखुनारायन, गोदावरी, चापागाउँ र गोदामचौरबाट दुई टोलीको सहभागिता रह्यो । बाकी वडाहरु बडिखेल, लेले, टिकाभैरव, डुकुछाप, देविचौर, प्याङ्गाउँ, झरुवारासी र ठैवबाट समान एक टोली थिए ।

१८ टिमलाई ६ समूहमा विभाजन गरिएको थियो । समूह विजेताले सोझै अन्तिम आठमा स्थान बनाउँदा उत्कृष्ट दुई उपविजेता टोली पनि क्वार्टरफाइनल पुगेका थिए ।

प्रतियोगिताको विजेतालाई ट्रफी सहित एक लाख र उपविजेतालाई ट्रफी सहित ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

यसैगरी  सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीले  ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सहकारी पे, प्लानेट अर्थ सोलुसन तथा मुख्य प्रबन्धकमा गोदावरी नगरपालिका रहेको छ ।