सहिद स्मारक ए डिभिजन लिग

शीर्ष स्थानमा फर्कने लक्ष्यमा सातदोबाटो

काठमाडौं । नेपाल पुलिस क्लबको सामना गर्दा सातदोबाटो युथ क्लब सहज जितसहित सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्कने योजना हुनेछ ।

सातदोबाटो ८ खेलमा १६ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको जावलाखेल युथ क्लबभन्दा मात्र १ अंक कम हो । पुलिसमाथि जित निकालेमा सातदोबाटोको ९ खेलमा १९ अंक हुने छ र टोलीले शीर्ष स्थानमा २ अंकको अग्रता लिनेछ । पुलिसमाथिको जितले नवौं चरणको समाप्तीमा सातदोबाटोमा शीर्ष स्थानमा रहने पक्का हुनेछ । 

दोस्रो स्थानको जावलाखेल र तेस्रो स्थानको मनाङले नवौं चरणका खेल खेलिसकेका छन । तेस्रो स्थानको मनाङको १५ अंक छ । चौथो स्थानको चर्च ब्वाइज युनाइटेड, पाँचौ स्थानको थ्री स्टार क्लब र छैटौं स्थानको संकटा क्लबको ८ खेलमा समान १४ अंक छ ।

पुलिस क्लब भने ८ खेलमा मात्र १ जितपछि ४ अंकसहित १४औं स्थानमा छ । पुलिस सातदोबाटोको शीर्ष स्थानमा फर्कने लक्ष्यमा पूर्णविराम लगाउँदै रेलिगेशन क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा हुनेछ । 

आजै च्यासल फुटबल मैदानमा हुने खेलमा संकटा क्लब र एपिएफ आमने सामने हुँदैछ । संकटा एपिएफमाथिको जितसहित शीर्ष चारमा फर्कने लक्ष्यमा हुनेछ । 

यता पछिल्लो खेलमा हिमालयन शेर्पासँग फराकिलो हार व्यहोरेको एपिएफ भने जित लयमा फर्कन चाहन्छ ।