थ्री नेसन्स कप

नेपाल र लाओसबीचको पहिलो हाफ १-१ को बराबरी

काठमाठौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र लाओसबीच जारी फाइनल खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।  

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा खेलको १७ औं मिनेटमा फौटाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए ।

बाउनफाचन बाउनकोङले डिबक्स बाहिरबाट मिलाइदिएकाे पासलाई सदुपयोग गर्दै साङभिलेले वान टचमा नेपालका गोलकिपर किरण चेम्जोङलाई बिट गरेका हुन्।

२४ औं मिनेटमा आयुष घलानले नेपाललाई बराबरीमा ल्याए । एरिक विष्टले दिएको पासलाई आयुषले पेनाल्टी क्षेत्र भित्र अघि बढाउँदै गोल गरे ।

दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।

चौंथो मिनेटमा किरण डिबक्स बाहिर रहेको स्थितिमा बाउन्कोङले गरेको प्रहार बाहिरिएको थियो । त्यसको तीन मिनेटपछि आयुषको क्रसमा मनिष डाँगीले हेडरको प्रयास गरे पनि बल भेट्टाउन सकेनन् ।

२२ अ‍ौं मिनेटमा नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको प्रहार लाओसका गोलरक्षक सेसाभाथले बचाँउदा नेपालले बराबरी गर्ने अवसर गुमाएको थियो ।

बराबरी गोल गरेको दुई मिनेटपछि आयुषले खेलमा अग्रता लिने सुन्दर अवसर गुमाए । डिबक्स भित्र नवीन लामाले अनमार्क रहेका आयुषलाई बल उपलब्ध गराएका  थिए । तर घलानको फितलो प्रहारलाई गोलकिपर सेसाभाथले सजिलै बचाए ।

पहिलो हाफ सकिन केही सेकेन्ड बाँकी छँदा बाउनकोङको फ्रिकिक प्रहार किरणले बचाए ।