थ्री नेसन्स कप

थ्री नेसन्स कपः उपाधि जित्नेमा दुवै टोली आशावादी

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुँदैछ । शुक्रबार साँझ ५ः३० बजे सुरु हुने फाइनलमा आयोजक नेपाल र लाओस भिड्ने छन् ।

लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा तथा लाओसले दोस्रो स्थानमा रहदै फाइनल पुगेका हुन् । भुटान भने लिग चरणबाट बाहिरिएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा लाओसलाई २-० ले हराएको नेपालले दोस्रो खेलमा भने भुटानसँग १-१ को बाराबरी खेलेको थियो । लाओसले भुटानलाई २-१ ले पराजित गरेको थियो ।  

मैत्रीपूर्ण वा प्रतिस्पर्धात्मक खेलका लागि फिफाले निर्धारण गरेको अन्तर्राष्ट्रिय समय सकिएका कारण शुक्रबारको फाइनलले आधिकारिक मान्यता पाउने छैन । तर दुवै टोलीले यसलाई हल्का रूपमा भने नलिएको बताएका छन् । दुवै टोली उपाधि आफ्नो पक्षमा हुनेमा आशावादी छन् ।

बिहीबार आयोजित प्रि-म्याच कन्फरेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीले फाइनल जित्नेमा आफु आशावादी रहेको बताए ।

‘राम्रो नतिजा प्राप्त गर्नु आवश्यक छ । हामी लाओससँग खेल्न शारीरिक र मानसिक रूपमा तयार छौं । भोलि उत्कृष्ट खेल हुनेछ । फाइनल फाइनल नै हो त्यसैले यो महत्त्वपूर्ण छ र सबैजना तयार छन् र मलाई टोलीमा गर्व छ,’प्रशिक्षक एनीसले भने,‘नयाँ खेलाडीले सुधार गरिरहेका छन् । उनीहरु राम्रो मानसिकतामा देखिन्छन् । टोलीले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्नेछ भन्ने अपेक्षा छ । नयाँ खेलाडीहरुका लागि यो जित प्रेरणा पनि हुनेछ ।’

एनासीले फाइनलमा फरवार्ड दीपक राज सिंह ठकुरीले सुरुआती–११ मै मौका पाउने बताए । उनले स्ट्राइकर अन्जन विष्ट उपाधि भिडन्तमा उपलब्ध हुने भए पनि दुई पहेलो कार्डको कारण डिफेन्सिभ मिडिफिल्ड पुजन उपरकोटीले भने खेल गुमाउने बताए ।

नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले नेपालको नयाँ टोलीको मनोबल उच्च बनाउनका लागि पनि उपाधि जित्नु आवश्यक रहेको बताए ।

‘हामी फाइनलका लागि मानसिक र शारीरिक रूपमा तयार छौं । उपाधि जित्नु हाम्रा लागि महत्वपूर्ण छ । उपाधिले टोलीमा रहेका नयाँ खेलायीलाई प्रेरित गर्नेछ,’ कप्तान लिम्बुले भने,‘हामीले एक खेल जितेका छौं र एक खेल बराबरी गरेका छौं, अब एउटा फाइनल बाँकी छ । हामी उपाधि जित्नैका लागि मैदान उत्रिने छौं । ’

लाओसका मुख्य प्रशिक्षक माइकल वाइसले सुखद अन्त्यको आशा गरेको बताए ।

‘यो प्रतियोगिता आयोजन गरेकोमा नेपाललाई धन्यवाद, यो प्रतियोगिता आयोजन गरेकोमा। आशा छ, यो प्रतियोगिताको अन्त्य हाम्रा लागि सुखद हुनेछ। आशा छ हामी फाइनलमा सुधरिएको प्रदर्शन गर्नेछौँ। घरेलु टिमसँगको यो खेल रोचक हुने विश्वास छ,’ वाइसले भने,‘ लाओस र नेपाल दुवैका लागि यो खेल विश्वकप छनोटको तयारी हुनेछ। अक्टोबरबाट सुरु हुने छनोटअघिको अन्तिम तयारी खेल यही हो। यसकारण हाम्रा लागि यो गतिलो परीक्षा हुनेछ। ’

यसैगरी वाइसले नोपाल राम्रो टोली भए पनि आफूहरुले कडा टक्कर दिने बताएका छन् ।

‘नेपाल राम्रो टिम हो। तर नेपालले केही खेलाडी गुमाएको छ। प्रशिक्षक पनि भर्खर आएका छन्।  नेपाली खेलाडी शारीरिक रुपमा बलिया छन्। धेरै खेलाडी अनुभवी पनि छनघरेलु मैदानमा उनीहरु स्वाभाविक रुपमा दाबेदार हुन्,’ वाइसले भने ‘तर हामी उनीहरुलाई सजिलै जित्न दिने पक्षमा छैनौँ। हामी प्राविधिक रुपमा अब्बल छौँ। हामीसँग प्रस्ट खेल योजना छ। तीव्र गतिमा खेल्नसक्ने खेलाडी छन्। यकारण मलाई लाग्छ हामीसँग यो खेल जित्ने अवसर छ।’

लाओसका कप्तान सौकाफोन राम्रो तयारी भएकाले उपाधिकका साथ घर फिर्कनेमा आशावादी रहेको बताए ।

‘हामीलाई बोलाएकोमा नेपाललाई धन्यवाद, हामी फाइनलका तयार छौँ। अभ्यास राम्रो भएको छ। भोलिको खेल महत्वपूर्ण छ,’भोङ्चियाङखामले भने,‘लाओसमा यो प्रतियोगितालाई लिएर उत्साहित छ। हामीलाई दबाब पनि छ। हामी उपाधि लिएर घर फर्कन चाहन्छौँ।’