सहिद स्मारक ‘ए’ डिभिजन लिग

आर्मी र एनआरटीको बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्युरोड टिम(एनआरटी) ले ३-३ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यस बारबरीसँगै एनआरटीले तीन खेलमा पहिलो अंक जोड्दा आर्मीको समान खेलबाट पाँच अंक छ ।

च्यासल मैदानमा खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । स्टेफन जुनियरले सुशान्त चौधरीलाई पेनाल्टी क्षेत्रमा पउल गरेपछि रेफ्री कविन व्यञ्जनकारले आर्मीलाई पेनाल्टीको अवसर प्रदान गरेका थिए ।

५२ औं मिनेटमा लालनुनजामाले  एनआरटीलाई १-१ को बराबरीमा ल्याए । ५७ औं मिनेटमा जिन एन्सर एमबोउमीले पेनाल्टीमार्फत गोल गर्दा एनआरटी २-१ ले अघि बढ्यो । विकास खवासले पेनाल्टी बक्समा कृतिश रत्न छुन्जुलाई  फाउल गरेपछि एनआरटीले पेनाल्टीको अवसर पाएको थियो ।

६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई ३-१ को अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा आर्मीका सुदिल राईले गोल गरेपछि खेल ३-२ को स्थितिमा आएको थियो । ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई ३-३ को बराबरीमा ल्याए ।

यसअघि संकटा क्लबसँग गोलरहित बराबरी खेलेको आर्मीले साबिक विजेता मछिन्द्रलाई २-० ले पराजित गरेको थियो ।

यसैगरी एनआरटीले सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबसँग समान २-१ को पराजय ब्यहारेको थियो ।