सहिद स्मारक ‘ए’ डिभिजन लिग

‘ए’ डिभिजन लिगः पुलिस अझै अंकविहिन, डोम्बियालाई रातो कार्ड र दीपकको निर्णायक गोल

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ अन्तर्गत तेस्रो खेलमा पनि तीन पटकको विजेता, विभागीय टोली नेपाल पुलिस क्लबले अंकको खाता खोल्न सकेन । शनिबार तीन खेल भए । च्यासलस्थित च्यासल मैदानमा दिउँसो २ः३० बजे भएको खेलमा संकटा क्लबले पुलिसमाथि ३–० को जित हासिल गर्यो । सोही समय त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराजित जावलाखेलले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबसँग गोलरहित बराबरी खेल्यो । ५ः३० बजे दिनको अन्तिम खेलमा दीपक राज सिंह ठकुरीको इन्ज्युरी समयको गोलमा सातदोबाटोले लगातार तेस्रो खेल जित्यो ।


पुलिसले अझै अंकको खाता खोल्न सकेन

च्यासल मैदानमा पुलिस संकटा क्लबसँग पराजित हुँदा  संकटाले भने जारी लिगमा पहिलो जित हासिल गरेको छ ।

च्यासलमा संकटाको जितमा गणेश हिमालले १२ औं मिनेटमा पहिको गोल गरे । दायाँ कर्नरबाट सुनिल श्रेष्ठले मिलाएको पासलाई गणेशले बक्सभित्रबाट चिप गोल गरेका थिए । खेलको ८० औं मिनेटमा रोशन पहारीले हाफभली गोल गर्दै अग्रता दोब्बर बनाए । मनिष डांगीको प्रहार पुलिस रक्षक अन्जन राईले फर्काउँदा प्राप्त रिबाउन्ड बललाई रोशनले २५ यार्डबाट वान टचमै गोल गरेका थिए । ८६ औं मिनेटमा सुरज जिउ ठकुरीले मनिसको पासमा बक्सबाहिरबाट वान टचमै गोल गरेपछि संकटाले सहज जित हासिल गर्यो ।

हारपछि पुलिसका मुख्य प्रशिक्षक चेतन घिमिरेले खेलाडीहरुको प्रदर्शन खराब नरहेको बताए । त्यस्तै प्रशिक्षक घिमिरेले उत्कृष्ट प्रदर्शनका साथ टोलीले पुनरागमन गर्नेमा आशावादी रहेको बताए ।

उता विजेता प्रशिक्षक सल्यान खड्गीले भने क्लबले राहत महसुस गरेको कुरा राखे ।

यसअघि चर्च ब्वाइजसँग २–१ को पराजय बेहोरेको पुलिस दोस्रो खेलमा हिमालयन शेर्पासँग १–० ले हारेको थियो । त्यस्तै पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरी खेलेको संकटाले दोस्रो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० को हार बेहोरेको थियो ।


डोम्बियालाई रातो कार्ड

१० खेलाडीमा समेटिएको एपिएफविरुद्ध मौकाको फाइदा उठाउन नसक्दा दशरथ रंगशालामा  जावलाखेलले एक अंकमा चित्त बुझायो ।

खेलको ६९ औं मिनेटमा जावलाखेलका स्ट्राइकर हिसुब थपलियालाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले एडामा डोम्बियालाई पहेँलो कार्ड देखाएका थिए । तर उक्त निर्णयमा चर्को आपत्ति देखाएपछि रेफ्री क्षेत्रीले डोम्बियालाई सोझै रातो कार्ड देखाए ।

डोम्बियाको रातो कार्ड अगाडी दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकनेनन् ।

खेलपछि एपिएफ प्रशिक्षक रत्न काजी महर्जनले रेफ्रीहरु खेल नियन्त्रणमा चुकेको बताए । ‘खेलमा कहिले काहिँ यस्तो परिस्थिती आउने गर्दछ । तर आज रेफ्रीहरुले माहोललाई नियन्त्रण गर्न नसकेको महसुस भयो, ’ महर्जनले भने, ‘अवश्य पनि हामीलाई डोम्बिया नहुँदा अर्को खेलमा गाह्रो हुनेछ । तर, हामी सिस्टम अनुसार खेल्ने हो । आज सुरुवाती राजाइमा खेलाइएका भाइहरु बिपन र सरनले आप्mनो पोसेशनलाई न्याय गरे । त्यही कारण आगामी खेलका लागि हामी डराउनु पर्ने स्थिती छैन ।’

त्यस्तै जावलाखेल प्रशिक्षक सुनिल कुमार श्रेष्ठले मिडफिल्ड नचल्दा फरवार्डहरुलाई गाह्रो भएको प्रतिक्रिया दिए ।

बराबरीपछि जावलाखेलको तीन खेलमा सात अंक हुँदा एपिएफको समान खेलमा चार अंक भएको छ ।

जावालखेलले यसअघि साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई ३–१ तथा न्युरोड टिम (एनआरटी) लाई २–१ पराजित गरेको थियो ।
यसैगरी थ्री स्टार क्लबलाई २–० ले पराजित गरेको एपिएफले सातदोबाटो युथ क्लबसँग १–० को हार ब्यहोरेको थियो ।

सातदोबाटोको लगातार तेस्रो जित

 लयमा रहेका फरवार्ड दीपक राज सिंह ठकुरीले इन्जुरी समयमा गोल गरेपछि सातदोबाटोले लगातार तेस्रो जित हासिल गर्यो ।

इन्जुरी समयमा दीपकले निरज चौधरीको सुन्दर पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए । 

जारी लिगमा दीपकको यो तेस्रो गोल हो । यसअघि दीपकले पहिलो खेलमा विभागीय टोली नेपाल पुलिसविरुद्ध दुई गोल गरेका थिए ।

दशरथ रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेट सम्म कुनै टिमले गोल गर्न सकेनन् । ६९ औं मिनेटमा फ्रेन्ड्सका रफिक अमिनोले दुई खेलाडीलाई बिट गर्दै गरेको प्रहारलाई सातदोबाटो गोलकिपर अभिषेक बरालले बचाएका थिए ।

७६ औं मिनेटमा फ्रेन्ड्सले अग्रता लिने सुनौलो अवसर खेरा  फाल्यो । डिबक्स भित्र अनमार्क रहेको स्थितीमा लक्ष्मण रुचालले फितलो प्रहार गरेका थिए ।
जितसँगै सातदोबाटो जारी लिगमा स्पष्ट ९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । दोस्रो हार बेहोरेको फ्रेन्ड्सको भने तीन खेलमा जम्मा एक अंक छ ।

पहिलो खेलमा एनआरटीलाई २–१ ले हराएको सातदोबाटोले दोस्रो खेलमा एपिएफलाई १–० ले पराजित गरेको थियो । त्यस्तै पहिलो खेलमा नवप्रबेशी खुमलटारसँग १–० ले पराजित फ्रेन्ड्सले दोस्रो खेलमा थ्री स्टारसँग ३–३ को बराबरी खेलेको थियो ।