नेपाली फुटबल

चन्द्रपुर मेयर गोल्डकपः विरगञ्ज युनाइटेडको विजयी सुरुआत

काठमाडौं । विरगञ्ज युनाइटेड क्लबले चन्द्रपुर मेयर गोल्डकप–२०७९ मा विजयी सुरुआत गरेको छ ।

रौतहटको चन्द्रपुरस्थित तुलसीलाल अमात्य स्मृति रंगशालामा आज (शनिबार) देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विरगञ्जले गोलबजार स्पोर्ट्स क्लबलाई ३–१ ले पराजित गर्यो ।

विरगञ्जको जितमा अनिश चौधरीले दुई र कृपाा चौधरीले एक गोल गरे । गोलबजारका बिभु आले मगरले गोल गरेका थिए ।

खेलमा अग्रता भने गोलबजारले लिएको थियो । १०औं मिनेटमा बिभुले गोल गर्दै गोलबजारलाई अग्रता दिलाएका थिए । तर, ३२औं मिनेटमा अनिशले गोल गर्दै विरगञ्जलाई खेलमा फर्काएका थिए ।

७३औं मिनेटमा अनिशले नै गोल गर्दै विरगञ्जलाई २–१ को अग्रता दिलाए । यस्तै, खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा कृपाको गोलमा विरगञ्जले अग्रतालाई ३–१ मा पूर्यायो ।

जितसँगै विरगञ्जले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । विरगञ्जले अब फाइनल प्रवेशका लागि बागमती युवा क्लब र धनुषा–११ बीचको विजेतासँग खेल्नेछ ।

चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय कार्कीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको थियो ।

रौतहट जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा आठ टिमको सहभागिता छ । चैत चार गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसँगै दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, प्रतियोगिताको एक उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।