सहिद स्मारक ‘ए’ डिभिजन लिग

दीपकको गोलमा सातदोबाटोको लगातार तेस्रो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा सातदोबाटो युथ क्लबले लगातार तेस्रो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार फ्रेन्ड्स क्लबलाई १-० ले पराजित गर्दै सातदोबाटोले सिजनको तेस्रो जित निकालेको हो ।

जितसँगै सातदोबाटो जारी लिगमा स्पष्ट ९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । दोस्रो हार बेहोरेको फ्रेन्ड्सको भने तीन खेलमा जम्मा एक अंक छ ।

खेलको निर्णायक गोल दीपक राज सिंह ठकुरीले  गरेका थिए । इन्जुरी समयमा दीपकले निरज चौधरीको सुन्दर पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेपछि सातदोबाटोले लगातार तेस्रो जित जित सुनिश्चित गर्यो  ।

जारी लिगमा दीपकको यो तेस्रो गोल हो । यसअघि दीपकले पहिलो खेलमा विभागिय टोली नेपाल पुलिसविरुद्द दुई गोल गरेका थिए ।

दुवै क्लबले केही अवसरहरु सृजना गरेपनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको निर्धारित ९० मिनेट सम्म पनि कुनै टिमले गोल गर्न सकेनन् । ६९ औं मिनेटमा फ्रेन्ड्सका रफिक अमिनोले दुई खेलाडीलाई बिट गर्दै गरेको प्रहारलाई सातदोबाटो गोलकिपर अभिषेक बरालले बचाएका थिए ।

 ७६ औं मिनेटमा फ्रेन्ड्सले अग्रता लिने सुनौलो अवसर खेरा फाल्यो । डिबक्स भित्र अनमार्क रहेको स्थितिमा लक्ष्मण रुचालले फितलो प्रहार गरेका थिए । त्यस्तै ८३ औं मिनेटमा दीपकको प्रहार बाहिरिएको थियो ।