बार्सिलोना

लेवान्डोस्की घाइते, एल क्लासिको गुमाउने

काठमाडौं । स्पेननिस लाग लिग अन्तर्गत आइतबार अल्मेरियाविरुद्ध खेल्दा घाइते भएका बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले एक सातापछि हुने एल क्लासिको गुमाउने भएका छन् ।

बार्सिलोनाले मार्च तीनमा सान्टियागो बर्नाबेउमा रियाल मड्रिडसँग कोपा डेल रे सेमिफाइनलको पहिलो लेग खेल्दैछ ।

‘टोलीको खेलाडी रोबर्ट लेवान्डोस्कीको ह्यामस्ट्रिङमा समस्या देखिएको छ । रोबर्ट टोलीबाट बाहिरीसकेका छन् । आउने दिनमा उनको रिकभरीले नै पुनरागमनको तय गर्नेछ,’  क्लबले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि नै चोटका कारण युवा मिडफिल्डर पेड्री र विंगरद्धय ओस्माने डेम्बेले र आन्सु फाती टोलीबाट बाहिरिसकेका छन् । यस्तोमा लेवान्डोस्कीको अनुपस्थितीले क्लबलाई थप गाह्रो बनाउन सक्छ ।

स्पेनिस ला लिगामा स्पष्ट सात अंकका अग्रता बनाएको बार्सिलोना केही दिन अगाडी मात्र इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित हुँद युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएको थियो ।

जारी सिजन पोलिस स्ट्राइकर लेवान्डोस्कीले ३१ खेलमा २५ गोल गरेका छन् ।