मनाङ मर्स्याङ्दी क्लब

मनाङमा दीपलाई कप्तानको जिम्मेवारी

काठमाडौं । नेपाली घरेलु फुटबलको महारथी मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय टोलीका गोलकिपर दीप कार्कीलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यही फागुन १९ गतेबाट हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले दीपलाई आर्म ब्यान्ड प्रदान गर्ने निर्णय गरेको क्लबका अध्यक्ष विजय घलेले जानकारी गराएका छन् ।

अघिल्लो सिजन कप्तानका रुपमा टिमको नेतृत्व गरेका राष्ट्रिय टोलीका स्टार स्ट्राइकर अञ्जन बिष्टले छोडेपछि दीपलाई कप्तानको जिम्मेवारी दिइएको हो । अञ्जनले यस सिजनका लागि शीर्ष डिभिजनको नवप्रवेशी टोली चर्च ब्वाइजसँग सम्झौता गरिसकेका छन् ।

‘यस मनाङ मर्स्याङ्दी क्लबले कप्तानको रुपमा दिप कार्कीलाई नियुक्त गरेको छ । राष्ट्रिय फुटबल टिमका गोलकिपर समेत रहिसकेका कार्कीलाई यस सिजनको ‘ए’ डिभिजन लिगका लागि कप्तान नियुक्ति गरिएको छ । कार्कीको कप्तानीमा क्लबले यस सिजन उत्कृष्ट नतिजा निकाल्ने विश्वास क्लब परिवारले लिएको छ,’ अध्यक्ष घलेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।