केपी ओली कप

केपी ओली कपको उद्घाटन खेलमा पुलिस र सातदोबाटो भिड्ने

फाइल फोटो

काठमाडौं ।  केपी ओली कप  राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् ।

उद्घाटन खेल फागुन ११ गते सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउसो तीन बजेबाट सुरु हुनेछ ।  

फागुन १२ मा दुई खेल हुनेछन् । विहान ११ बजे सुरु हुने भिभागीय टोली त्रिभुवन आर्मी क्लबले न्युरोड टिम ( एनआरटी) को सामना गर्नेछ । यसैगरी सोही दिन दिउँसो तीन बजे हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लब आमने सामने हुनेछन् । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछन् ।

फागुन १३ एन्फा कम्प्लेक्समा दिउँसो तीन बजेबाट सुरु हुने खेलमा आयोजनक केपी ओली फुटबल क्लबले जावलाखेल युथ क्लको सामना गर्नेछ ।

नकआउट पद्धतीमा हुने  प्रतियोगितामा हरेक खेलकाे विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल फागुन १४ र १५ गते  एन्फा कम्प्लेक्समा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल भने फागुन १७ गते त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ पाँच बजेबाट सुरु हुनेछ ।  

कुल सात खेल हुने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयीमान खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हरेक खेलको विजेता टोलीलाई २५ हजार रुपैयाँ दिइनेछ भने प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’लाई १५ हजार प्रदान गरिनेछ ।

प्रतियोगिमा सहिद स्मारक ‘ए’ डिभिजन लिगका सात र आयोजकको एक गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब र जवालाखेल युथ क्लब तथा आयोजकको केपी ओली फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्  ।

आयोजक युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले केपी ओली फुटबल क्लब आधिकारीक रूपमा दार्ता भएको र क्लबले आगामी वर्षमा पनि प्रतियोगितालाई निरन्तरता दिने बताए ।

‘केपी ओली फुटबल क्लब गैरनाफामूखी संस्थाका रुपमा कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएको छ । आगामी दिनदेखि यही क्लबले केपी ओली कप आयोजना गर्नेछ’पौडेलले भने,‘क्लबले खेलाडी र प्रशिक्षकसँग भने यही प्रतियोगिताका लागि मात्र सम्झौता गरेको हो।’