नेपाल टी २० लिग

स्पट फिक्सिङको अनुसन्धान जारी छ, निश्कर्ष निस्किएको छैनः सिआइबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार कीर्तिपुरमा सम्पन्न नेपाल टी २० लिगमा भएको भनिएको स्पट फिक्सिङमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले विवादास्पद रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई आयोजना अधिकार विक्री गरेको प्रतियोगिता आर्थिक सँगै बेटिङ तथा फिक्सिङको विवादमा पनि तानिएको छ ।

नेपाल प्रहरीले दर्जनौं सट्टेवाजलाई पक्राउ गरिसकेको छ भने सिआइबीले बेटिङ र स्पट फिक्सिङ भनिएका शंकास्पद गतिविधिमाथि अनुसन्धान गरिरहेको छ ।

सिआइबीद्धारा गठित समितिले अनुसन्धान/छानविनको काम गरिरहेको अवस्थामा केही खेलाडी विशेषको नाम उल्लेख गरि प्रकासित समाचारहरुमा कुनै सत्यता नरहेको जनाएको छ ।

सिआइबीका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरिक्षक संजयसिंह थापाले बिहीबार विज्ञप्ति जारी गर्दै कुनै व्यक्ति विशेषको नाम समाचारमा उल्लेख भएकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।

राष्ट्रिय खेलाडीद्धय विनोद भण्डारी र सरद भेषावकरको नाम उल्लेख गर्दै केही सञ्चार माध्यमले समाचार प्रकासित गरेका थिए ।

‘समितिले अनुसन्धान/छानविन प्रतिवेदन पेश गरि निश्कर्षमा पुगिनसकेको अवस्थामा यस ब्यूरोको स्रोत जनाई केही खेलाडी तथा अन्य व्यक्तिको नाम उल्लेख गरि समाचार प्रकासित गरेको पाइएकोले यस किसिमका तथ्यहीन र दिग्भ्रमित हुने किसिमका समाचारले ब्यूरोप्रति रहेको आम नागरिकको विश्वास टुट्ने तथा समाचारमा नाम उल्लेख भएका व्यक्तिहरुको मान प्रतिष्ठामा आँच आउन सक्ने भएको हुँदा सरोकारवाला सञ्चारकर्मीज्यूहरुलाई संवेदनशील हुनको लागि अनुरोध गरिएको छ ।’