नेपाल टी–२० लिग

जनकपुरमाथि लुम्बिनीको रोमाञ्चक जित

काठमाडौं ।  लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगअन्तर्गत मंगलबार सम्पन्न दोस्रो खेलमा जनकपुर रोयल्समाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ । 

यस जितसँगै आठ खेलमा १४ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा कायम रहँदा हार ब्यहोरेको जनकपुर समान खेलबाट १० अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा लुम्बिनीले प्रस्तुत गरेको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै एक सय ७३ रन बनाउन सक्यो ।

जनकपुरका लागि वेस्ट इन्डिजका ब्याटर चाडविक वाल्टनले ३६ बलमा चार छक्का र तीन चौका मद्दतमा अविजित ५९ रनको योगदान गरे । यसैगरी सन्दीप जोरा अफगानिस्तानका सराफुद्दिन असरफ र वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथले समान २६ तथा अफगानिस्तानका समिउल्लाह सिनवारीले १८ रनको जोडे ।

पहिलो विकेटका लागि सराफुद्दिन र ट्रेभोनले ५१ रनको साझेदारी गरेका थिए । लुम्बिनीका लागि आयरल्यान्डका ह्यारी टेक्टर र भारतका विपुल शर्माले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७८ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि  भारतीय ब्याटर हरमीत सिंहले ४७ बलमा ६ छक्का र पाँच चौका मद्दतमा सर्वाधिक ७३ रनको योगदान गरे । यसैगरी श्रीलंकका लाहिरु मिलान्थाले ३३,आयरल्यान्डका ह्यारी टेक्टरले अविजित १८,कुशल भुर्तेलले १७, कप्तान दिपेन्द्रसिंह ऐरीले १४ तथा अनिल शाहले अविजित १० रन जोडे ।

पहिलो विकेटका लागि हरमीत र लाहिरुले ७७ रनको साझेदारी गदै टोलीलाई राम्रो सुरुआत दिलाएका थिए । जनपुरकका लागि अफगानिस्तानका सराफुद्दिन असरफले तीन, जितेन्द्र मुखिया ललितनारयण राजवंशी र लागि अफगानिस्तानका समिउल्लाह सिनवारीले समान एक विकेट लिए ।

मंगलबार नै सम्पन्न पहिलो खेलमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गरेको थियो ।  

विवादपछि दुई घण्टा ढिलो गरी टस भएपछि खेल नौ ओभरमा झारिएको थियो । निर्धारित समयअनुसार टस बिहान ८ः३० मा हुनुपर्ने थियो । तर दुवै टोलीले टस अघि बुझाउनु पर्ने खेलाडीको लिस्ट नै बुझाएका थिएनन् ।

पारिश्रमिक नपाएपछि खेलाडीले नखेल्ने निर्णय गरेका थिए । दुवै क्लबका खेलाडीले प्रतियोगिता सुरु हुनुअघि सम्झौता अनुरुपको ४० प्रतिशत रकम र प्रतियोगिता दौरान बाँकी ६० प्रतिशत रकम पाउनु पर्ने दाबी गर्दै मैदान उत्रन अस्विकार गरेका थिए ।