नेपाल टी–२० लिग

काठमाडौंको विजयी सुरुआत

काठमाडौं ।  अविनाश  बोहोराको तीन विकेटप्रेरित काठमाडौं नाइट्सले नेपाल टी–२० लिगमा सुखद सुरुआत गरेको छ । 

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा काठमाडौंले पोखरा एभेन्जरलाई २६ रनले हरायो । काठमाडौं प्रस्तुत गरेको एक सय ६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित १९ ओभरमा सात विकेट गुमाउँदै एक सय ३६ रन मात्र जोड्यो ।

मैदान ओसिलो भएका कारण टसमा ढिलाइ हुँदा खेललाई १९ ओभरमा झारिएको थियो ।

पोखराका ओपनर उपुल थरंगाले ३४ बलमा ६ चौका मद्दतमा ४४ रन जोडे भने आरिफ शेखले २० रन जोडे ।

काठमाडौंका अविनाशले तीन, वासिर अहमदले दुई र अनिल खरेलले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित १९ ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६२ रनको योगफल खडा गरेको थियो ।

काठमाडौंका लागि अजमतउल्लाह ओमरजाईले ४२ बलमा सात छक्का र तीन चौका मद्दतमा अविजित ८५ रनको योगदान दिए ।

सुनाम गौतमले  अविजित २७, एलेक्स ब्लेकले २१ र वीर रनदीप सिंहले १० रनको योगदान दिए ।

पोखराका लागि प्रतिश जिसी र जाहीर खानले समान दुई तथा मौसम ढकालले एक विकेट लिए । 

 आजै हुने दोस्रो खेलमा लुम्बिनी अलस्टार्स र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।