इसीसी विश्वकप क्रिकेट लिग टु

नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । वर्षाले खेल प्रभावित बनेसँगै आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल र नामिबियाबीचको खेल रद्द भएको छ ।

शुक्रबार युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा नेपालले प्रस्तुत गरेको एक सय ९८ रनको लक्ष्य पछ्याएको नामिबिया पहिलो ओभरको चार बलमा विना विकेट क्षती चार रनमा खेलिरहँदा वर्षाले खेल रोकिएको थियो । 

लगातारको वर्षाका कारण खेल सम्भव नभएपछि नेपाल र नामिबियाले अंक बाँडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै एक सय ९७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ९४ बलमा सात चौका र दुई छक्कामद्दतमा सर्वाधिक ७५ रनको योगदान दिएका थिए ।

त्यस्तै,आरिफ शेखले २३,आसिफ शेखले २०,अर्जुन साउद र गुल्सन झाले समान १८,कुशल भुर्तेलले १३,कप्तान रोहित पौडेल र सोमपाल कामीले समान १० रन जोडे ।

नामिबियाका लागि टान्गिनी लुङ्गामेनीले तीन,कार्ल ब्रिकेनस्टोकले दुई विकेट लिए ।  

नेपाल २१ खेलमा १८ अंकसहित छैटौ स्थानमा छ । नामिबिया भने २८ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ ।

पहिलो खेलमा नामिबियाले स्कटल्यान्डलाई नतिजा सुम्पिएको थियो ।