कतार विश्वकप २०२२

कतार विश्वकपः अरब देशलाई हर्ष र विस्मय

काठमाडौं । अरब राष्ट्रले आयोजना गरेको पहिलो विश्वकप भएर पनि होला अरब फुटबल प्रशंसकहरुका लागि यो संस्करण विशेष भइरहेको छ । मुख्यतया पश्चिम एसिया र उत्तरी अफ्रिकामा २२ अरब राष्ट्रमध्ये यो विश्वकपमा आयोजक कतारसँगै ट्युनिसिया, मोरक्को, इरान र साउदी अरेबियाले अरबको प्रतिनिधित्व गरे ।

कतारबाहेक अन्य अरब देशले आ-आफ्नो समूहमा एक खेल पनि जिते । जहाँ उनीहरुले विश्व फुटबलकै महारथीलाई निराश पारे । अप्रत्याशित विजय उत्सव मनाएका अरब फुटबल प्रशंसकहरुले आफ्नो देशको दुर्भाग्यपूर्ण बिदाइमा पनि साक्षी बन्नु पर्यो । सहभागी पाँच अरबी टोलीको नतिजा मिश्रित रह्यो । त्यसैले अरबी समर्थकका लागि यो विश्वकप हर्ष र विस्मय दुवै बन्यो ।

यिनै हर्ष र विस्मयका क्षणहरु सामाजिक सञ्जालमा व्याप्त  हुन थाले । खासगरि अरबी समर्थकहरुबाट सामाजिक सञ्जालहरु ठूला भनिएका देश र टिमविरुद्धका व्यंग्यले भरिए । भरिइरहेका छन् ।

विश्वकपको तेस्रो दिन साउदी अरेबियाले लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनामाथि २-१ को पुनरागमन जित निकाल्यो । जब अर्जेन्टिना पराजित भयो, तब मेसी क्षेत्रीय स्तरमा ठट्टाको पात्र बन्न थाले । सामाजिक सञ्जालमा प्राप्त भिडियोमा अरबी भाषामा डब गरिएको मेसीले पत्रकारहरुलाई रुँदै सम्बोधन गरिरहेको दुष्य देखाइएको छ । जुन भिडियो मेसीले बार्सिलोना छोड्ने बेलाको पत्रकार सम्मेलनबाट लिइएको भावनात्मक फुटेज थियो । अरबीमा डब गरिएको भिडियोमा मेसीले रुँदै भनेका थिए, ‘हामी अपमानित भयौं । साउदीले हाम्रो खिल्ली उडायो र दया नगरी हामीलाई ध्वस्त पारे । यस्तो हुन सक्छ भनेर मैले सोचेको थिइनँ ।’

विश्वकप सुरु हुनुभन्दा केही दिन अगाडि मात्र लुइस भ्याटनको एक विज्ञापनमा मेसी र रोनाल्डोले चेस खेलिरहेको फोटो सामाजिक सञ्जालमा खुबै भाइरल भएको थियो । साउदीले अर्जेन्टिनालाई पराजित गरेपछी साउदी समर्थकले उक्त विज्ञापनमा रोनाल्डोको ठाउँमा सलिम अल दसारीलाई राखे । अर्जेन्टिनाविरुद्ध खेलको निर्णायक गोल उनै दसारीले नै गरेका थिए ।

उक्त व्यंग्यपछि अन्य थुप्रै उस्तै खालका विज्ञापन पनि आए । साउदी समर्थकहरुले, ‘मेसी कता छ ?’ भनेर सोधिएको क्लिप त झन् सबैको सामाजिक सञ्जालमा पुगेको थियो । अर्जेन्टिना पछि मेक्सिको र पोल्यान्डमाथि जित हात पार्दै समूह विजेता बन्यो र नकआउट चरण प्रवेश गर्यो । साउदीले भने त्यस पछिका खेलहरु हार्यो र अंकतालिकाको पुछारमा रहेर विश्वकपको अन्त्य गर्यो ।

साबिक विजेता फ्रान्ससहित कठिन समूहमा रहेको ट्युनिसियाका लागि उत्सव मनाउने केही कारणहरु थिए । खेलाडीहरु लयमा थिए । कतारमा अघिल्लो चरण जान सक्ने आत्मविश्वास खेलाडीहरुमा थियो । उता केही समर्थकहरु भने विश्वकपका दौरान सामाजिक सञ्जाल केन्द्रित रहे । ट्युनिसियालीहरुको एउटा समूहले परम्परागत सुफी पहिरनमा उदास, धार्मिक शैलीको अन्त्येष्टि कोरस गाउँदै गरेको भिडियो सार्वजनिक गरेको थियो । गीत विपक्षी विरुद्ध थियो । ‘मसँग धेरै समस्याहरु छन्, तर मलाई आशा छ (ट्युनिसियाली खेलाडी) उच्च फर्ममा छन्’ गीतका शब्दहरु थिए ।

समूह चरणको अन्तिम खेल अघि एकजनाले ट्युनिसियाविरुद्ध नखेल्न फ्रान्सका स्टार किलियन एमबाप्पेलाई भिख माग्दै गरेको भिडियो ब्लग पोस्ट गरेका थिए । ‘ट्युनुसियाली जनतालाई केही आनन्द चाहिन्छ, तपाई किन हामीसँग खेल्न चाहनुहुन्छ ? के तपाईलाई हामीसँग समस्या छ ? हामीसँग नखेल्नुहोस् !’ उक्त भिडियोमा भनिएको थियो । फ्रान्स विरुद्धको खेलमा ट्युनिसियाले ऐतिहासिक १-० को जित निकाल्यो तर ट्युनिसियाले पहिलो चरण भने कटाउन सकेन ।

प्रतियोगिता वरिपरि भ्रष्टाचार र अधिकार हननको व्यापक आरोप लागेको कतार मैदानमा पनि निरास नै भयो । उदघाटन खेलमा पराजित हुने पहिलो आयोजक राष्ट्र बनेको कतारले बाँकीका दुई खेल पनि हार्यो ।

मोरक्को भने प्रतियोगितामा अपराजित छ । समूह चरणका खेलहरुमा एक बराबरी र दुई जित निकाल्दै मोरक्कोले नकआउट चरणमा स्थान बनाएको छ । आफ्नो दोस्रो खेलमा बेल्जियमलाई पराजित गरेको मोरक्कोले अन्तिम १६ मा स्पेनको सामना गर्नेछ ।

समर्थक विनाको विश्वकप अनुमान पनि गर्न सकिन्न । यही कारण अरबी समर्थकले सामाजिक सञ्जालमा गरेका व्यंग्यहरु पनि स्वभाविक हुन् । आजभोलि त झन् यी कुराहरु सामान्य जस्तै भइसकेको छ । झन् यो त देशको प्रतिष्ठाको लडाई हो ।

अर्जेन्टिना, फ्रान्स र बेल्जियम जस्ता बलिया टोलीलाई हराएकोमा अरबी समर्थकहरु अवस्य पनि गौरवान्वित छन् । दुर्भाग्यपूर्ण ढंगले विश्वकपबाट बाहिर जानु पर्दाको खिन्नता पनि उनीहरुमा छ । समग्रमा अरबी देशहरु पछिका दिनहरुमा यो भन्दा पनि बलियो हुने अपेक्षा गर्न सकिन्छ । अरब फुटबलका लागि यो एउटा नयाँ बिहानी हुन सक्छ ।