कतार विश्वकप २०२२

‘के मोरक्कोले विश्वकपको उपाधि जित्छ ?’

काठमाडौं । उपाधीको मुख्य दाबेदारका रुपमा कतार पुगेका दुई युरोपेली महारथी क्रोएसिया र बेल्जियम रहेको समूह ‘एफ’बाट अघिल्लो चरण प्रवेश गर्नु नै मोरक्कोका लागि ठूलो उपलब्धि हुन सक्छ ।

त्योभन्दा विशेष उनीहरुले पाएको सफलता हो । हो, सन् १९९८ पछि समूह विजेताको रुपमा विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बन्नु मोरक्कोका लागि चानचुने सफलता होइन । यसअघि सन् १९९८ मा नाइजेरिया समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको थियो ।

क्यानाडामाथि २-१ को जित हासिल गरेसँगै मोरोक्कोले बिहीबार ३६ वर्ष वर्षपछि विश्वकपको अन्तिम १६ मा स्थान बनायो । सबैलाई आश्चर्यमा पार्दै समूह विजेता बनेको मोरक्को त्यो सफलताको यात्रा अझै लम्ब्याउने लक्ष्यमा हुनेछ ।

प्रशिक्षक वालिद रेग्रेगीको टोली समूह चरणको तीन खेलमा अपराजित रह्यो । पहिलो खेलमा चार वर्षअघिको उपविजेता क्रोएसियालाई गोलरहित बराबरीमा रोेकेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २-० ले निराश पारेको थियो । विश्व वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियममाथिको जित नै ३६ वर्षपछि मोरक्कोलाई समूह चरण पार गराउने नाउ बन्यो । बेल्जियम चार वर्षअघि रुसमा सम्पन्न विश्वकपमा सेमिफाइनल पुगेको टोली हो ।

खेलपछि पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुको प्रशिक्षक रेग्रेगी र म्यान अफ दी म्याच असरफ हाकिमीलाई एउटै प्रश्न थियो, ‘समूह चरणको प्रभावशाली प्रदर्शनपछि मोरोक्कोको अबको लक्ष्य के हो ?’

तर लिबियाका एक पत्रकारको प्रश्नले भने सबैको ध्यान तानेको थियो । सो प्रश्नमा रेग्रेगीले पनि निर्धक्क भएर जबाफ दिए ।

ती पत्रकारको प्रश्न थियो, ‘के तपाईलाई मोरक्कोले विश्वकपको उपाधि जित्छ जस्तो लाग्छ ?’

रिग्रेगीले हाकिमीतर्फ हेरेर मुस्कुराउँदै भने, ‘हामी केही लक्ष्य राखेरै कतारमा आएका थियौं । समूह चरणमा गरेको प्रदर्शन र प्राप्त सफलताले त्यसैलाई प्रमाणित गर्छ । हामीले नकआउट चरणको टिकट पक्का गर्यौ । क्रोएसिया र बेल्जियमलाई पछि पार्दै समूह विजेता बन्यौं । क्रोएसियालाई गोलरहित बराबरीमा रोक्यौं भने बेल्जियममाथि जित निकाल्यौं ।’

‘समूह चरण मात्र पार गर्ने हाम्रो लक्ष्य हुँदै होइन । हामीे अझ धेरै सफलता चुम्न चाहन्छौं । साना टोलीहरुले विश्वकपमा समूह चरण पार गर्न मात्र खेल्छन् वा सहभागिता नै ठूलो हो भन्ने मानसिकतामा हामीले परिवर्तन ल्याउनुपर्छ । हामी पनि अन्य टोलीका लागि कठिन प्रतिद्धन्द्धी बनिरहेका छौं,’ उनले प्रतिप्रश्न गरे, ‘विश्वकपमा आएका सबै ३२ राष्ट्र समान हुन् । कोही ठूलो र कोही सानो भन्ने हुँदैन । के अफ्रिकी टोलीलाई विश्व विजेता बन्ने सपना देख्ने अधिकार छैन ?’

उनले पहिलो पटक मध्यपूर्वी एसियामा भएको विश्वकपको सफल आयोजनाको प्रत्यक्ष फाइदा कतारलाई मात्र नभई समग्र इस्लामिक राष्ट्रका लागि पनि पुग्ने बताए ।

क्यानाडाविरुद्धको खेलअघि मोरोक्कोका समर्थकहरु अल्हेज लिस मगारेब, अल्हेज लिस मगारेब को नारा लगाउँदै नाचगानमा मस्त थिए । उनीहरु समग्र अरब र इस्लामिक राष्ट्रको सफलताको कामना गरिरहेका थिए ।

मोरोक्कोले यसअघि १९९४, १९९८ र २०१८ को विश्वकपमा सहभागी भए पनि समूह चरण पार गर्न सकेको थिएन ।

अन्तिम १६ मा मोरोक्कोले समूह ‘ई’ को उपविजेता स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेन २०१० को विश्व विजेता हो ।

‘हाम्रा लागि समूह चरण पार गर्नु सहज थिएन । अझ समूह विजेताको रुपमा तर पनि हामी इतिहास रच्न सफल भइसकेका छौं,’ अगस्टबाट मोरक्कोको प्रशिक्षण सम्हालेका रिग्रेगीले भने, ‘हामीले क्यानाडाविरुद्ध पहिलो हाफमा गरेको प्रदर्शन अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनमध्येको एक थियो । हामीले स्वभाविक लय गुमाएनौं । त्यो नै सफलताको कारक हो । मलाई मेरा खेलाडीप्रति गर्व छ । उनीहरुले मलाई विश्वास गरे । अहिले समग्र राष्ट्रले उनीहरुबाट ठूलो आशा राखेको छ ।’

समूह चरणको दोस्रो खेलमा बेल्जियमविरुद्धको जितपछि हाकिमीले दर्शकदिर्घामा रहेकी आफ्नी आमालाई भेटेको तस्बिर निकै चर्चित बनेको थियो । जुन तस्बिरमा उनकी आमाले उनको गालामा चुमीरहेकी छिन् ।

‘मैले कहिले पनि ठूलो सपना राखिन,’ हाकिमीले भने, ‘मोरोक्को प्रतिनिधित्व गर्नु नै मेरा लागि सबै भन्दा ठूलो उपलब्धी हो । हामी यो यात्रा अझ अघि लैजान चाहन्छौं । ३६ वर्ष पछि हामीले ठूलो सफलता हात पारेका छौं । आशा छ, यो लयले लामो यात्रा तय गर्नेछ ।’

चोटका कारण हाकिमीले खेल्ने वा नखेल्ने दुबिधा थियो । तर उनले क्यानाडाविरुद्धको खेलमा पूरा समय मैदानमा बिताए । साथै उनले दोस्रो गोलका लागि पास समेत उपलब्ध गराएका थिए ।

‘हाकिमी एक लडाकु हुन,’ रेग्रेगीले भने, ‘मैले उनलाई आराम गर भनेको थिए, तर उनी देशका लागि खेल्छु भन्दै मैदान उत्रिए र टोलीको जितमा नायक रहे ।’