आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेट

भारत र इङल्यान्ड भिड्दै

सिड्नी । ट्वान्टी२० क्रिकेटको विश्व वरियतामा शीर्ष स्थानमा रहेको भारत र दोस्रो स्थानको इङल्यान्ड आज आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटको दोस्रा सेमिफाइनलमा आमने सामने हुँदैछन् ।

यी टोलीबीचको विजेताले आइतबार मेलबर्न क्रिकेट मैदान हुने फाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तान बुधबार न्युजिल्यान्डलाई सात विकेटले हराउँदै १३ वर्षपछि पहिलो पटक ट्वान्टी२० विश्वकपको फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको दाबेदार मानिएको भारत ग्रुप टु को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । यता इङल्यान्ड भनेग्रुप वानको उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

एक दिवसीय विश्वकप क्रिकेटको विजेता इङल्यान्ड ट्वान्टी२० विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

भारतका लागि कप्तान रोहित शर्माको चोटले सताएको छ । उनी मंगलबार अभ्यासको क्रममा घाइते भएका थिए । यद्धपी उनी त्यसको केही क्षणपछि नै पुनः अभ्यासमा फर्किएका थिए । त्यस्तै दिनेश कार्तिक वा ऋषभ पन्तमध्ये कसलाई विकेटकिपिङको जिम्मेवारी दिने भन्नेबारे पनि भारतीय छनोटकर्ता अझै अन्योलमा छन् ।

चोटकै कारण इङल्यान्डका मार्क उड र डाविड मालनले एडिलेड ओभलमा हुने खेलमा मैदान उत्रने सम्भावना न्युन छ । मालनको स्थानमा फिल साल्ट मैदान उत्रने सम्भावना रहेको छ ।

यी दुई टोली ट्वान्टी२० खेलमा २२ पटक आमने सामने भएका छन् । जसमध्ये १२ खेल भारतले जितेको छ भने इङल्यान्डले १० खेल जितेको छ ।

भारतले यस वर्ष खेलेको ३७ ट्वान्टी२० खेलमा २७ खेल जितेको छ । इङल्यान्डले भने २५ खेलमा मात्र १३ खेल आफ्नो पक्षमा पारेको छ ।

भारतका लागि विराट कोहलीको लयको निरन्तरता महत्वपूर्ण मानिएको छ । कोहली यस प्रतियोगितामा निकै प्रभावशाली देखिएका छन् । उनले जारी प्रतियोगितामा दुई सय ४६ रन जोडेका छन् ।