क्रिकेट अस्ट्रेलिया

अस्ट्रेलियाको विश्वकप टोलीमा आश्चर्यजनक घोषणा

सिड्नी । साविक विजेता अस्ट्रेलियाले एक जना नयाँ खेलाडी समावेश गर्दै आसन्न आइसिसी पुरुष ट्वान्टी २० विश्वकपका लागि उपाधि रक्षाको अभियानसहित टोली घोषणा गरेको छ ।

अस्ट्रेलियाली विश्वकप टोलीमा छनोटकर्ताहरुले आश्चर्यजनक निर्णय गर्ने क्रममा आइसिसीको एसोसिएट सदस्य सिंगापुरबाट सरुवा प्रक्रिया पूरा गरेका टिम डेविडलाई पनि समावेश गरेका छन् ।

गत वर्ष २० ओभरको विश्वकपमा पहिलो पटक उपाधि जित्दाको टोलीमा अस्ट्रेलियाले यसपाली गरेको एकमात्र परिवर्तन डेविडलाई समावेश गर्नु हो । आक्रामक ब्याटिङका लागि परिचित अलराउन्डर डेविडले टिममा स्पिनर मिच स्वेप्सनलाई स्थानान्तरण गर्नेछन् । जसबाट आरोन फिन्चलाई ब्याटिङका लागि थप एक विकल्प प्राप्त हुनेछ ।

२६ वर्षे डेविडले घरेलु क्रिकेटमा आफूलाई उदीयमान सनसनीका रुपमा स्थापित गरिसकेका छन् । खासगरी डेथ ओभरमा आक्रामक ब्याटिङ उनको परिचय हो । घरेलु मैदानमा उपाधि रक्षा गर्ने उद्देश्यमा रहेको अस्ट्रेलियाका लागि डेविडको उपस्थितीलाई बरदानको रुपमा मानिएको छ ।

क्रिकेट अस्ट्रेलियाका छनोट प्रमूख जर्ज बेलीले नयाँ संस्करणका डेविडको आगमनलाई स्वागत गर्दै स्वेप्सनको ठाउँ उनलाई दिनु टिमको आवश्यकता रहेको बताए ।

‘टिम (डेविड)ले आफूलाई विश्वभरका सबैजसो लिगमा निरन्तर रुपमा स्थापित गरिरहेका छन् । उनले अस्ट्रेलियाली टिममा स्थान पाउनुको कारण पनि यही हो । उनी एउटा निक्कै प्रतिभावान र प्राकृतिक क्षमता भएका खेलाडी हुन् । प्राकृतिक रुपमै बलिङ गर्ने क्षमताका उनको उपस्थितीले ब्याटिङमा अतिरिक्त गहिराई मिल्नेछ । ट्वान्टी २० स्वरुपको क्रिकेटमा सफलताका लागि उनीजस्ता खेलाडीको उपस्थिती महत्वपूर्ण हुनेछ,’ बेलीले भने, ‘हामी अस्ट्रेलियाली टोलीबाट पनि उनले पछिल्ला केही वर्षमा गरेजस्तै प्रदर्शनलाई निरन्तरता दिउन भन्ने चाहन्छौं ।’

बेलीले प्रदर्शन खस्केको कारण नभई खेलको स्वभावअनुसारको आवश्यकताका आधारमा मिचेल स्वेप्सनलाई टिमबाट हटाउनुपरेको प्रष्टिकरण दिए । अघिल्लो विश्वकप भएको संयुक्त अरब इमिरेट्स (युएई)को तुलनामा अस्ट्रेलियाका ठूला मैदानको ब्याटिङ कन्डिसनलाई मध्यनजर गरेर उनको ठाउँमा ब्याटिङमा पनि जम्न सक्ने खेलाडी ल्याएको उनको भनाई थियो ।

अस्ट्रेलियाले आगामी अक्टोबर २२ मा सिड्नी क्रिकेट मैदानमा छिमेकी प्रतिद्वन्द्वी न्युजिल्यान्डसँग खेल्दै विश्वकपमा उपाधि रक्षाको अभियान थाल्नेछ । गत वर्ष दुबईमा भएको फाइनलमा पनि यिनै दुई टोलीबीच भेट भएको थियो । जहाँ अलराउन्डर मिचेल मार्सले ५० बलमा ७७ रनको अविजित इनिङ खेल्दै अस्ट्रेलियालाई आठ विकेटको जितका साथ पहिलो पटक २० ओभरको विश्वकप उपाधि जिताएका थिए ।

तीन नम्बरका ब्याटर मार्स अहिले कुर्कुच्चाको चोटको उपचार गराइरहेका छन् । तर उनी विश्वकपभन्दा अगाडि तीन ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलका लागि सेप्टेम्बरको अन्त्यमा टोलीले भारत भ्रमण गर्दा सम्म नै ठिक भइसक्ने अपेक्षा गरिएको छ ।

बलिङतर्फ अस्ट्रेलियासँग अघिल्लो वर्षकै विजयी सुत्र हुनेछ । नम्बर एक बलर जोस हाज्लेउडले टोलीको बलिङ आक्रमणको नेतृत्व लिइरहेका छन् ।

विश्वकपको तयारीस्वरुप अस्ट्रेलियाले सेप्टेम्बर २१ देखि तीन ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलका लागि भारत भ्रमण गर्नेछ । जसमा विश्वकपको टोलीबाट एक परिवर्तन हुनेछ ।

ओपनर डेविड वार्नर आरामका लागि अस्ट्रेलियामै रहनेछन् भने उनलाई क्यामरुन ग्रिनले टिममा स्थानान्तरण गर्नेछन् ।

विश्वकपका लागि घोषित अस्ट्रेलियाको टोलीः आरोन फिन्च (कप्तान), पाट कमिन्स (उपकप्तान), एश्टन अगार, टिम डेविड, जोस हाज्लेउड, जोस इन्ग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचार्डसन, स्टेभन स्मिथ, मिचेल स्टार्क, मार्कुस स्टोइनिस, म्याथु वेड, डेविड वार्नर, एडम जाम्पा ।