क्रिकेट

खेलाडीलाई कठिन बन्दै क्रिकेट

लन्डन । क्रिकेटको अति व्यस्त कार्यतालिकामा अझै खेल संख्या थप्ने हो भने खेलाडीका लागि सबै तीन स्वरुपको क्रिकेट खेल्न निक्कै गाह्रो हुने दक्षिण अफ्रिकाका क्रिकेटर क्विन्टन डी ककले बताएका छन् ।

यसै महिना इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेपछि क्रिकेटको व्यस्त क्यालेन्डरको चर्को आलोचना भएको थियो । पाकिस्तानका पूर्व तिब्र गतिका बलर वासिम अक्रमले गत साता स्टोकको संन्यास लिने निर्णयको कारण आफूले बुझेको बताएका थिए । यसैगरी इङ्ल्यान्डका पूर्व कप्तान नासिर हुसेनले अन्तर्राष्ट्रिय क्रिकेटको क्यालेन्डरलाई ‘पागलपन’ भन्दै आलोचना गरेका थिए ।

‘यो तरिकाले प्रत्येक दिन खेलाडीका लागि क्रिकेट कठिन बन्दैछ । तीनवटै स्वरुपमा खेलको संख्या थपिँदो क्रममा छ,’ वर्षाका कारण इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल अवरुद्ध भएपछि डी ककले पत्रकारहरुसँग भने, ‘खेलाडीले व्यक्तिगत रुपमा आफै निर्णय गर्नुपर्छ । यदी कसैले तीनवटै स्वरुपमा खेल्न सक्छ भने त्यो राम्रो कुरा हो । तर खेलाडीले निर्णय गर्दा धेरै ध्यान पुर्याउनुपर्छ ।’

२९ वर्षे विकेटकिपर ब्याट्सम्यानले गत डिसेम्बरमा परिवारसँग बढि समय विताउने भन्दै टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।

‘म अहिले पनि केही लिगमा खेलिरहेको छु, तर त्यो मेरो आफ्नो कुरा हो । क्रिकेट भनेको शारीरिक रुपमा डिमान्डिङ खेल हो । मेरो उमेर ढल्कँदै छ । त्यसैले मैले आफै आफ्नो र करियरको विषयमा सोच्नुपर्छ । शरिरले साथ दिएसम्म बढि भन्दा बढि खेल्ने त प्रत्येक खेलाडीको इच्छा हुने नै भयो,’ डि ककले भने, ‘एउटा उमेरसम्म सबै तीन स्वरुपमा खेल्नैपर्छ । तर उमेर ढल्कँदै गएपछि गाह्रो हुन्छ । त्यसपछि आफ्नो व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा गम्भीर नभई हुँदैन ।’

इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीच बुधबारबाट तीन ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलको शृंखला हुनेछ । शृंखलाको पहिलो खेल ब्रिस्टलमा हुनेछ ।